मध्यपूर्व कूटनीति तीव्र, पाकिस्तानका प्रधानमन्त्रीको दौडधुप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०८:२२

एजेन्सी । अमेरिका–इरानबीच पुनः सम्भावित वार्ताको तयारी भइरहेका बेला क्षेत्रीय कूटनीति तीव्र बनेको छ । यही सन्दर्भमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चार दिने मध्यपूर्व भ्रमणका लागि साउदी अरब पुगेका छन् ।

अमेरिका र इरानबीच कुरा मिलाउन पहलकदमी लिँदै उनी दौडधुप गरिरहेका छन् । उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ । भेटमा क्षेत्रीय सुरक्षा, ऊर्जा संकट तथा पछिल्ला अमेरिका–इरान वार्ता प्रक्रिया मुख्य एजेन्डा रहने बताइएको छ ।

Advertisement

सरिफ त्यसपछि कतार र टर्कीको भ्रमणमा जानेछन् । टर्कीको अन्ताल्या कूटनीति मञ्चमा उनले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । यसै क्रममा पाकिस्तानले आफूलाई क्षेत्रीय संवाद र तनाव न्यूनीकरणमा मध्यस्थकर्ताको भूमिकामा प्रस्तुत गर्दै आएको देखिएको छ ।

पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि दोस्रो चरणको सम्भावना खुला भएको बताइन्छ । उक्त वार्तापछि मध्यपूर्वमा तनाव केही घटे पनि स्थिति अझै संवेदनशील रहेको विश्लेषण गरिएको छ ।

इरान र अमेरिका–इजरायलबीचको पछिल्लो द्वन्द्वका कारण खाडी क्षेत्रमा ऊर्जा आपूर्ति प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उतारचढाव देखिएको थियो । यसैबीच पाकिस्तानको अर्थ मन्त्रालयले साउदी अरबले पाकिस्तानलाई तीन अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको जनाएको छ ।

साथै, पहिले नै रहेको पाँच अर्ब डलर बराबरको निक्षेपलाई पनि अनिश्चित अवधिका लागि विस्तार गरिएको छ । यसलाई पाकिस्तानको कमजोर विदेशी मुद्रा भण्डार स्थिर बनाउन महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ ।

अर्कोतर्फ, पाकिस्तानी सेना प्रमुख असीम मुनिर नेतृत्वको प्रतिनिधिमण्डल इरान पुगेको छ । उनलाई तेहरानमा इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् ।

उक्त भ्रमणले वासिङ्टनको सन्देश इरानसम्म पुर्‍याउने र दोस्रो चरणको वार्ताका बारेमा थप छलफल गर्ने अपेक्षा गरिएको छ । यसरी अमेरिका–इरान वार्ताको छायाँमा मध्यपूर्वमा कूटनीतिक गतिविधि अझ सक्रिय बन्दै गएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.