
विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज (बिहीबार) सम्राट स्पोर्टिङ क्लब विराटनगर र चर्च चर्च ब्वाइज युनाइटेडबीच दोहोरो भिडन्त हुँदैछ ।
घलेलु टोली सम्राट पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा पुगेको टिम हो । चर्च ब्वाइजले पूर्वविजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको थियो ।
सम्राट र चर्चबीचको खेल विराटनगरको सहिद रंगशालामा साँझ ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । विराटनगर– २०५४ सालमा स्थापित सम्राट स्पोर्टिङ क्लबले विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो ।
युनाइटेड २०७९ सालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड विराट गोल्डकपको साबिक उपविजेता टोली हो । तेस्रोपटक गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाईज अघिल्लो संस्करणमा थ्रीस्टार क्लबसँग फाइनलमा २–० गोल अन्तरले पराजित भएको थियो ।
अन्तिम सेमिफाइनलको विजेताले शनिबार हुने फाइनलमा झापा–११ को सामना गर्नुपर्ने छ । बुधबार राति सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापा–११ फाइनलमा पुगेको थियो । गोल्डकप विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















