सांकेतिक फोटो ।एजेन्सी । अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्था अब निर्णायक मोडमा पुगेको छ । अप्रिल २१ सम्म कायम युद्धविराम सकिनुअघि नै शान्ति सम्झौतामा पुग्ने उद्देश्यसहित दुवै पक्षले तीव्र कूटनीतिक प्रयास गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वार्ता सकारात्मक दिशामा अघि बढेको छ । यद्यपि, केही महत्वपूर्ण मतभेद अझै बाँकी छन् । वार्ताको केन्द्रमा इरानको आणविक कार्यक्रम रहेको छ ।
अमेरिका इरानको आणविक गतिविधिमा कडाइ चाहन्छ भने इरानले आर्थिक प्रतिबन्ध हटाउनुपर्ने अडान राख्दै आएको छ । यही सन्दर्भमा ४४० किलोग्राम उच्च स्तरमा सम्वर्द्धित युरेनियमको व्यवस्थापन अहिले सबैभन्दा जटिल विषय बनेको छ । यसलाई विदेश पठाउने, कम स्तरमा झार्ने वा ३ प्रतिशतसम्म सीमित गर्ने तीन विकल्पमाथि छलफल भइरहेको बताइएको छ ।
यस वार्तामा पाकिस्तानले ‘ब्रेकथ्रु’ गराउने मध्यस्थकर्ताको भूमिका खेलेको छ । पाकिस्तानी सेना प्रमुख आसिम मुनीर तेहरान पुगेर इरानी नेतृत्वसँग भेटवार्ता गरिरहेका छन् । उनले अमेरिकी सन्देश बोकेर गएको र दोस्रो चरणको वार्ताको आधार तयार पार्ने प्रयास भइरहेको जनाइएको छ ।
यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भए पनि अब पुनः पाकिस्तानमै अर्को चरणको वार्ता हुन सक्ने सम्भावना छ । अमेरिकाले होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दी कडा बनाउँदै इरानमाथि आर्थिक दबाब बढाएको छ ।
इरानको दैनिक १५ लाख ब्यारेल तेल निर्यात प्रभावित हुँदा अर्थतन्त्रमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकी अधिकारीहरूले इरान सम्झौतामा नआए नाकाबन्दी अनिश्चितकालसम्म जारी रहने चेतावनी दिएका छन् ।
यसैबीच, सम्भावित सम्झौताप्रति आशावादी संकेत देखिँदा एसियाली सेयर बजारमा समेत सकारात्मक प्रभाव परेको छ । तर, अन्तिम सहमतिसम्म पुग्न अझै केही संवेदनशील विषयहरू समाधान गर्न बाँकी छन् । अबका केही दिनले मध्यपूर्वमा शान्ति कायम हुने कि थप द्वन्द्व चर्किने भन्ने दिशा तय गर्नेछ ।



















