
एजेन्सी । अमेरिकाले आफ्नो रणनीतिक हितविपरीत काम गर्ने र विरोधी शक्तिलाई सहयोग गर्ने व्यक्तिमाथि कडा कदम चाल्दै भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अर्कोतर्फ इरानसँग शान्ति सम्झौता नजिक पुगेको दाबी पनि सार्वजनिक भएको छ । यी दुवै घटनाले अमेरिकी कूटनीतिक र सुरक्षा नीति एकैपटक आक्रामक र वार्तामुखी दिशातर्फ अघि बढिरहेको संकेत दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाका विरोधी शक्तिलाई सहयोग गरेको आरोपमा २६ जनामाथि भिसा प्रतिबन्ध लगाइएको छ । यस्तो प्रतिबन्धअन्तर्गत ती व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाइने वा यसअघि जारी भिसा रद्द गरिनेछ । मन्त्रालयले जानाजानी निर्देशन दिने, आर्थिक सहयोग गर्ने वा महत्वपूर्ण समर्थन उपलब्ध गराउने व्यक्तिहरूलाई समेत कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको नीति अन्तर्गत आएको हो । जसले पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव विस्तार गर्न जोड दिएको छ । लागुऔषध तस्करी नियन्त्रण, आर्थिक प्रतिबन्धको चेतावनी र चीनको बढ्दो प्रभाव रोक्ने प्रयास यस नीतिका प्रमुख पक्षका रूपमा देखिएका छन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । उनका अनुसार इरान आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्न तयार भएको छ । दुवै देश शान्ति सम्झौताको नजिक पुगेका छन् । उनले सम्झौता भएमा तेल आपूर्ति पुनः सुचारु हुने, हर्मुज जलडमरूम खुला रहने र क्षेत्रीय अवस्था सामान्यतर्फ फर्कने बताए ।
ट्रम्पले सम्भावित सम्झौता इस्लामावादमा हुनसक्ने संकेत गर्दै आवश्यक परे पाकिस्तान भ्रमणसमेत गर्न सक्ने बताएका छन् । अमेरिकाले एकातिर कडा प्रतिबन्ध नीति लागू गरिरहेको र अर्कोतर्फ संवेदनशील अन्तर्राष्ट्रिय मुद्दामा वार्ता अगाडि बढाइरहेको अवस्था विश्व राजनीतिमा नयाँ सन्तुलनको संकेतका रूपमा हेरिएको छ ।



















