होर्मुजमा तनाव, तेल बजार प्रभावित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०७:२९

एजेन्सी । विश्व ऊर्जा आपूर्तिको मुख्य नाका होर्मुज जलडमरू पछिल्लो समय फेरि गम्भीर तनावको केन्द्र बनेको छ । इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद चर्किँदै जाँदा उक्त जलमार्गमा जहाज आवतजावत लगभग ठप्प भएको छ भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमाथि नाकाबन्दी जारी राख्ने घोषणा गरेपछि इरानले आफ्नो अडान कडा बनाउँदै जलमार्गमाथिको नियन्त्रण पुनः कडा पारेको हो । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कर्प्सले उक्त क्षेत्रलाई पूर्ण सशस्त्र निगरानीमा राखिएको जनाएको छ । केही तेल ट्यांकर र व्यापारिक जहाजहरू माथि गोली चलेपछि समुद्री यातायात झनै प्रभावित भएको छ ।

Advertisement

समुद्री सुरक्षा निकायहरूका अनुसार केही समयका लागि आवतजावत खुलेजस्तो देखिए पनि गोली प्रहारको घटनापछि जहाजहरू पुनः फर्किन बाध्य भएका छन् । यसले जलमार्गलाई पुनः अस्थिर अवस्थामा पुर्‍याएको छ । भारतले आफ्ना दुई जहाजमाथि आक्रमण भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, अमेरिका र इरानबीचको वार्ता पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । इरानले अमेरिकी नाकाबन्दीलाई युद्धविरामको उल्लंघन भन्दै वार्तामा सहभागी नहुने अडान लिएको छ भने अमेरिकाले नयाँ सम्झौता नभएसम्म दबाब जारी राख्ने चेतावनी दिएको छ ।

यो विवादको मुख्य कारण इरानको आणविक कार्यक्रम र युरेनियम संवर्धन हो । अमेरिकाले इरानले आणविक हतियार बनाउने प्रयास गरेको आरोप लगाउँदै आएको छ भने इरानले आफ्नो कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ ।

यस तनावको असर विश्व बजारमा प्रत्यक्ष देखिएको छ । होर्मुज जलमार्ग बन्द भएपछि कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । विश्वको करिब पाँच भागको एक भाग तेल यही मार्गबाट ढुवानी हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ ।

विश्लेषकहरूका अनुसार अहिलेको अवस्था राजनीतिक दबाब मात्र नभई रणनीतिक शक्ति प्रदर्शन पनि हो । तर, अवस्था यस्तै रहिरहे सानो घटनाले पनि ठूलो युद्धको रूप लिन सक्ने जोखिम बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.