
एजेन्सी । जापानको उत्तरपूर्वी समुद्री तटीय क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको झट्का बिहान महसुस गरिएको ।
यसको केन्द्रविन्दु सान्रिकु तट नजिक समुद्रमा करिब १० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । प्रारम्भमा ७.३ म्याग्निच्युड मापन गरिएको भए पनि पछि यसलाई संशोधन गर्दै ७.५ म्याग्निच्युड पुष्टि गरिएको हो ।
भूकम्पपछि तत्कालै जापानले सुनामीको चेतावनी जारी गरेको छ । अधिकारीहरूले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई कुनै पनि ढिलाइ नगरी सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेका छन् । केही स्थानमा ३ मिटरसम्म अग्ला समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताइएको छ ।
जापानी सञ्चारमाध्यमका अनुसार भूकम्पपछि उत्तरपूर्वी तटीय क्षेत्रमा सुनामीका प्रारम्भिक छालहरू देखिन थालेका छन् । विशेषगरी होक्काइडो, आओमोरी र इवाते क्षेत्र उच्च जोखिममा रहेको जनाइएको छ । स्थानीय प्रशासनले उद्धार तथा सुरक्षा टोली परिचालन गर्दै निरन्तर निगरानी गरिरहेको छ ।
भूकम्पको प्रभाव सार्वजनिक यातायातमा पनि परेको छ । टोकियो र आओमोरीबीच सञ्चालन हुने बुलेट ट्रेन सेवा अस्थायी रूपमा रोकिएको छ । विद्युत् तथा सञ्चार सेवामा पनि केही स्थानमा अवरोध आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताएका छन् । हालसम्म ठूलो मानवीय क्षतिको आधिकारिक पुष्टि नभए पनि तटीय क्षेत्रमा उच्च सतर्कता कायम राखिएको छ । जापान सरकारले नागरिकलाई आधिकारिक सूचनाबाहेक अन्य अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।



















