
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविराम अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन् ।
उनले इरानी पक्षबाट स्पष्ट प्रस्ताव नआएसम्म शान्ति वार्ता जारी राख्ने र सैन्य मुठभेड टार्ने नीति अपनाइने बताएका हुन् । राष्ट्रपति ट्रम्पका अनुसार इरानको नेतृत्व तहमा अझै अन्योलता देखिएकाले औपचारिक वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
उनले इरानभित्र निर्णय प्रक्रिया अस्पष्ट रहेको र कसले आधिकारिक रूपमा वार्ता अघि बढाउने भन्ने विषयमै स्पष्टता नभएको दाबी गरे । यो निर्णय पाकिस्तानको मध्यस्थता र अनुरोधपछि आएको बताइएको छ । जसले तत्कालका लागि पूर्णस्तरको युद्धको सम्भावना कम गरेको छ ।
यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी भने यथावत राखिएको छ । जसलाई इरानले द्वन्द्वकै एक हिस्सा मान्दै आएको छ ।
राजनीतिक र आर्थिक दबाबका कारण ट्रम्प प्रशासन तत्काल युद्धतर्फ नजाने रणनीतिमा देखिएको छ । विश्वबजारमा तेलको मूल्यमा पर्ने असर र आन्तरिक राजनीति पनि यस निर्णयका प्रमुख कारण मानिएका छन् ।
विश्लेषकहरूका अनुसार, ‘पर्शियन गल्फ’ र ‘स्ट्रेट अफ हर्मोज’ क्षेत्रमा तनाव कायमै रहन सक्ने संकेत देखिएको छ । जसले दीर्घकालीन अस्थिरताको सम्भावना भने बढाएको छ ।



















