इजरायल र लेबनानबीच दोस्रो चरणको शान्ति वार्ता आज, युद्धविराम लम्बिने सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार ११:२४

वासिङ्टन डीसी । इजरायल र लेबनानबीच जारी युद्ध अन्त्य गरी दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले आज बिहीबार वासिङ्टन डीसीमा दोस्रो चरणको प्रत्यक्ष वार्ता हुँदैछ। अमेरिकाको मध्यस्थतामा भइरहेको यस वार्तामा दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।

यसअघि गत अप्रिल १६ तारिखमा भएको सहमति अनुसार १० दिने अस्थायी युद्धविराम लागू गरिएको थियो। आजको वार्तामा सोही युद्धविरामको अवधि थप गर्ने र स्थायी शान्ति सम्झौताका लागि ठोस खाका तयार पार्ने विषयमा छलफल हुने बताइएको छ।

Advertisement

लेबनानले वार्तामा मुख्य रूपमा इजरायली सेनाको फिर्ता, सीमा सुरक्षाका लागि लेबनानी सेनाको परिचालन, बन्दीहरूको रिहाइ र युद्धले ध्वस्त पारेका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। इजरायलले भने आफ्नो उत्तरी सिमानाको सुरक्षा र सशस्त्र समूहहरूको निशस्त्रीकरणलाई मुख्य सर्तका रूपमा अघि सारेको छ।

१० दिने युद्धविराम अवधिमा केही छिटपुट हिंसाका घटनाहरू भए पनि समग्रमा स्थिति शान्त रहेको छ। आजको वार्ता सफल भएमा यो दशकौँपछि दुई देशबीच हुन लागेको पहिलो ऐतिहासिक शान्ति सम्झौताको प्रस्थानविन्दु बन्न सक्ने अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूले विश्वास व्यक्त गरेका छन्। सन् २०२६ मार्चमा सुरु भएको यस युद्धका कारण लेबनानमा करिब २४ सय मानिसको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.