
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा इजरायल र लेबनानबीच जारी युद्धविराम थप तीन साताका लागि लम्ब्याइएको छ । ह्वाइट हाउसमा दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिहरूसँग भएको वार्तापछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।
यसअघि दुई देशबीच १० दिने युद्धविराम सम्झौता भएको थियो । जसको अवधि सकिन लागेका बेला अमेरिकाको मध्यस्थतामा थप समय दिने सहमति जुटेको हो । अमेरिकी पक्षले यो अतिरिक्त समयलाई स्थायी शान्तिको आधार तयार पार्ने अवसरका रूपमा व्याख्या गरेको छ ।
ह्वाइट हाउसमा सम्पन्न वार्तालाई सकारात्मक रूपमा लिइएको छ । दुवै देशका प्रतिनिधिहरूले तनाव घटाउँदै संवादमार्फत समाधान खोज्ने विषयमा सहमति जनाएका छन् । ट्रम्पले निकट भविष्यमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ आउनलाई वासिङ्टनमा आमन्त्रण गर्ने तयारीसमेत भइरहेको जानकारी दिएका छन् ।
नयाँ सहमतिअनुसार युद्धविरामको अवधि लम्ब्याउने मुख्य उद्देश्य दुई देशबीचको सैन्य तनाव कम गर्नु र दीर्घकालीन समाधानतर्फ अघि बढ्नु हो । पछिल्ला दिनहरूमा युद्धविरामको पालना सम्बन्धी केही चुनौती देखिए पनि अमेरिकाले लेबनानलाई सुरक्षा संयन्त्र सुदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, सशस्त्र समूहहरूको गतिविधि नियन्त्रण गर्ने विषय पनि वार्ताको महत्वपूर्ण अंश बनेको छ ।
यद्यपि, युद्धविराम लम्बिए पनि क्षेत्रीय सुरक्षा चुनौतीहरू भने पूर्ण रूपमा हटेका छैनन् । इजरायलले आफ्नो सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै आएको छ । लेबनानले राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई प्रमुख अडानका रूपमा प्रस्तुत गरेको छ ।
अमेरिकी पक्षले भने यो तीन साताको अवधि संवादको वातावरण निर्माण गर्ने र स्थायी शान्ति सम्झौताका लागि आधार तयार पार्ने अवसर हुने विश्वास व्यक्त गरेको छ। पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव कम गर्न सहयोग पुग्ने र युद्धको त्रासमा बाँचिरहेका सर्वसाधारण नागरिकहरूमा शान्तिको आशा थप बलियो हुने छ ।

























