
न्युयोर्क। अमेरिकाको वासिङ्टन डीसीस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर’ कार्यक्रममा गोली चल्दा सुरक्षा व्यवस्थामा ठुलो हलचल पैदा भएको छ। शनिबार राति भएको उक्त घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।
प्रहरीका अनुसार होटलमै बसिरहेका ३१ वर्षीय संदिग्ध कोल टोमस एलेनले सुरक्षा चेकप्वाइन्ट पार गर्ने क्रममा गोली चलाएका थिए। उनको साथबाट सटगन, ह्यान्डगन र चक्कु समेत बरामद गरिएको छ। गोली लागेर सेक्रेट सर्भिसका एक एजेन्ट घाइते भएका छन्, तर उनले बुलेटप्रुफ ज्याकेट लगाएका कारण उनको अवस्था सामान्य रहेको र उनी खतरामुक्त रहेको बताइएको छ।
गोली चलेलगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य क्याबिनेट सदस्यहरूलाई तत्काल सुरक्षित स्थानतर्फ लगेका थिए। करिब २ हजार ६०० जना सहभागी रहेको उक्त हलमा गोलीको आवाज सुनिनासाथ भागदौड मच्चिएको थियो भने धेरैले टेबलमुनि लुकेर ज्यान जोगाएका थिए।
घटनापछि आयोजित आकस्मिक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीहरूको साहसको प्रशंसा गरे। उनले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै सुरक्षा व्यवस्थामा देखिएका कमजोरीबारे पुनरावलोकन गरिने संकेत गरे। रोचक कुरा के छ भने, यही होटलमा सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि पनि हत्याको प्रयास भएको थियो।
सन् २०२४ को निर्वाचन अभियानका क्रममा पनि ट्रम्पमाथि दुई पटक हत्या प्रयास भइसकेकाले यो पछिल्लो घटनाले अमेरिकी राजनीतिमा बढ्दो हिंसा र उच्चपदस्थको सुरक्षा संवेदनशीलतामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।अहिले प्रहरीले संदिग्धलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ।



















