
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले राखेको पछिल्लो कूटनीतिक प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् ।
सीएनएनका अनुसार ट्रम्पले इरानको हर्मुज जलमार्गसम्बन्धी प्रस्तावप्रति असन्तुष्टि जनाएका हुन् । प्रस्तावमा समुद्री यातायात पुनः सुरु गर्ने तर आणविक कार्यक्रमका मुख्य विषय पछि छलफल गर्ने उल्लेख छ ।
अमेरिकी अधिकारीहरूले आणविक संवर्धन र युरेनियम भण्डारणको मुद्दा सम्बोधन नगरी जलमार्ग खोल्दा इरानमाथिको दबाब कमजोर हुने चेतावनी दिएका छन् । त्यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघचीले मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मध्यपूर्वको तनावबारे छलफल गरेका छन् । उनले वासिङ्टनमाथि कडा अडानका कारण वार्ता असफल भएको आरोप लगाएका छन् ।
अमेरिकी विदेशमन्त्रीले इरानको सर्वोच्च नेतृत्वको अधिकारबारे प्रश्न उठाउँदै निर्णय प्रक्रियामाथि शंका व्यक्त गरेका छन् । इरानले भने पाकिस्तानमार्फत मध्यस्थता गर्दै अमेरिका समक्ष नयाँ प्रस्ताव राखेको छ । जसमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने सर्त समावेश छन् ।
तर, अमेरिकाले उक्त प्रस्तावका बारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन र आणविक कार्यक्रम रोक्नुपर्ने आफ्नो माग दोहोर्याएको छ । कूटनीतिक प्रयासहरू जारी रहे पनि इरान र अमेरिकाबीच ठोस सहमति बन्न सकेको छैन । मध्यपूर्वको तनाव अझै जारी छ ।
विश्लेषकहरूका अनुसार होर्मुज जलमार्ग खुलाउने र आणविक कार्यक्रम सम्बन्धी अडानमा सहमति नहुँदा वार्ता जटिल बनेको छ । ऊर्जा बजारमा समेत असर पर्ने देखिएको छ ।
यसबीच पाकिस्तानले मध्यस्थको भूमिका निर्वाह गर्दै इरान र अमेरिकाबीच प्रस्ताव आदानप्रदान गरिरहेको छ । रुसले पनि मध्यपूर्वमा स्थिरताको आवश्यकता औंल्याएको छ ।
ह्वाइट हाउसका अधिकारीहरूले अमेरिका आफ्नो हित सुरक्षित हुने अवस्थामा मात्र सम्झौता गर्ने बताउँदै इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएका छन् । यसैबीच ब्याक च्यानल कूटनीति जारी रहे पनि तत्काल समाधान नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र कूटनीतिक सम्बन्धमा अनिश्चितता बढाएको छ । साथै, बजार र सुरक्षा दुवैमा प्रभाव परिरहेको छ ।



















