
एजेन्सी । इन्डोनेशियाको राजधानी जकार्तासँग जोडिएको क्षेत्रमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटना जकार्तासँग जोडिएको बेकासी सहरको रेल स्टेशन नजिक भएको हो ।
स्थानीय अधिकारीका अनुसार कम्युटर सेवामा सञ्चालन भइरहेको रेल र लामो दूरीको अर्को रेल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनापछि रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको छ । कैयौँ यात्रुहरू भग्नावशेषमा फसेका थिए ।
राज्य स्वामित्वको रेल कम्पनीले दिएको जानकारीअनुसार मंगलबार बिहान करिब पौने नौ बजेसम्म १४ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ८४ जना घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
इन्डोनेशियाको राष्ट्रिय खोज तथा उद्धार निकाय का प्रमुख मोहम्मद स्याफीले घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेको बताएका छन् । उनका अनुसार दुर्घटनाग्रस्त डिब्बाहरूभित्र अझै केही यात्रु फसेका हुनसक्ने आशंका गरिएको छ ।
रेलका डिब्बाहरू क्षतिग्रस्त भएर आपसमा च्यापिएका कारण उद्धार कार्य जटिल बनेको छ । उद्धारकर्मीहरूले फलामका संरचना काट्दै बिस्तारै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।



















