
विराटनगर । विराटनगर जुट मिल्सको जग्गा ओगटेर अनधिकृत रुपमा बसोबास गरिरहेकाहरुलाई हटाउने अन्तिम तयारी थालिएको छ । जग्गा ओगट्नेलाई अबको एक साताभित्र हटाइने भएको हो ।
जुट मिल्सको हटताली हाट, दक्षिण गेट, हरिनगरा भट्टा क्षेत्रमा अनधिकृत रुपमा बसोबास गरिरहेका परिवार र जुटमिलको सडक किनारा क्षेत्रमा भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई हटाइँदै छ । मिल्सको करिब १४ बिघा क्षेत्रफलमा करिब ६ सय परिवारको बसोबास रहेको छ ।
सडक किनारा क्षेत्रमा भाडा नतिरी करिब ३० वटा पसल व्यवसाय सञ्चालनमा रहेको बताइएके छ । संघीय सरकारको निर्णय अनुसार अनधिकृत रुपमा बसोबास गरिरहेका परिवारहरु र भाडा नतिरी पसल व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई एक साताभित्रमा हटाइने विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी दिए ।
हटाउने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ । जुट मिल्सको सडक किनारा क्षेत्रमा एक–दुईवटा पसलबाहेक अन्यले भाडा नतिरेको जानकारी अध्यक्ष कार्कीले दिए ।
भाडा तिरेर पसल व्वसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गरिने र नतिर्नेहरुलाई प्रशासनको सहयोग लिएर असुल गरिने उनको भनाइ छ । ‘जुट मिल्स क्षेत्रमा बसोबास गरिरहेकाहरुले खाना पकाउने भाँडावर्तन र लत्ताकपडाबाहेक अन्य सामान लैजान पाउने छैनन् । अन्य सबै जुट मिल्सकै सम्पत्ति हो,’ कार्कीले भने ।
जुट मिल्स अनधिकृत बसोबास गरिरहेकाहरुले विराटनगर बजार क्षेत्रमा घर निर्माण गरी भाडा लगाएर बसेको स्रोतले बतायो । करोडौंका घरहरु निर्माण गरी भाडा लगाउनेहरु अनधिकृत रुपमा जुट मिल्सभित्र अनधिकृत रुपमा बसोबास गरिरहेका छन् । केही व्यक्तिहरु मिलेर मिल्सभित्रै गार्मेन्ट फ्याक्ट्री समेत सञ्चालन गरेको बताइएको छ ।
मिल्समा कार्यरत कर्मचारीका लागि बनाइएको आवासहरु अवकाश भएपनि नछाड्ने धेरै रहेको प्रशासन प्रमुख श्याम लामाले जानकारी दिए । उनका अनुसार चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण जुट मिल्स पटकपटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ ।
मिल्सको खाली जमिनमा घर निर्माण गरेर बसोबास गर्नेहरुको संख्या पनि अधिक छ । लामाले भने, ‘मिल्स बन्द भएपछि अवकाश भएकाहरुले पनि आवास छाडेनन् । बाहिरका व्यक्तिहरु पनि बस्न थाले ।’
विराटनगर जुट मिल्स विक्रम संवत १९९३ मा स्थापना भएको नेपालकै जेठो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै नभएर मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो ।
पछिल्लो पटक २०७० सालदेखि मिल्स बन्द छ । लामो समयदेखि बन्द भएको उद्योग खण्डहरजस्तै बनेको छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भइसकेका छन् । भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएको बताइन्छ ।

























