ट्रम्पको चेतावनीपछि तेल महँगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०७:०१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

ट्रम्पले सामाजिक सञ्जालमा राइफल समातेको आफ्नो तस्बिर सार्वजनिक गर्दै इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ढिलो भएको भन्दै असन्तुष्टि जनाएका थिए । चाँडै सहमति नभए अझ कडा कदम चालिने चेतावनी उनले दिएका छन् ।

Advertisement

पहिले नै तनावग्रस्त रहेको अमेरिका–इरान सम्बन्धलाई ट्रम्पको उक्त अभिव्यक्तिले थप चर्काएको छ । प्रतिक्रिया स्वरूप इरानले संयुक्त राष्ट्रसंघमा अमेरिकाविरुद्ध औपचारिक उजुरी दर्ता गरेको छ । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीले अमेरिकाले झण्डै ३८ लाख ब्यारेल इरानी तेल जफत गरेर डकैती गरेको आरोप लगाएका छन् ।

यसैबीच, अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेको देखिन्छ । ट्रम्पले ऊर्जा कम्पनीका कार्यकारीहरूसँग छलफल गर्दै आवश्यक परे महिनौँसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी कायम राख्ने विकल्पबारे चर्चा गरेका थिए । साथै, घरेलु ऊर्जा उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारमा पर्ने असर कम गर्ने उपायहरू पनि खोजिएको बताइएको छ ।

तनाव चुलिँदै जाँदा तेल बजारमा तुरुन्तै प्रभाव देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ८ प्रतिशतले उकालो लाग्दै प्रति ब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको छ । जुन सन् २०२२ यताकै उच्च हो । केही समयका लागि मूल्य १२२ डलरसम्म पुगेको थियो । अमेरिकामा समेत पेट्रोलको औसत मूल्य चार वर्षकै उच्च बिन्दुमा पुगेको छ । जसले उपभोक्तामाथि थप भार परेको छ ।

विशेषगरी हर्मुज जलडमरूमध्यमा देखिएको अवरोधले बजारमा त्रास सिर्जना गरेको छ । विश्वको करिब पाँचौँ भाग तेल र तरल प्राकृतिक ग्यास आपूर्ति यही जलमार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरता विश्वव्यापी आपूर्तिमा प्रत्यक्ष असर पार्ने गर्छ । इरानले जलमार्ग नजिक आउने जहाजहरूलाई लक्षित गर्न सकिने चेतावनी दिएपछि र अमेरिकाले इरानी बन्दरगाहतर्फ जाने जहाज रोक्ने घोषणा गरेपछि ढुवानी लगभग अवरुद्ध भएको छ ।

यो तनावको जरो भने फेब्रुअरी अन्त्यदेखि चर्किएको सैन्य गतिविधिमा छ । इजरायल र अमेरिकाको आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदा क्षेत्रीय द्वन्द्व व्यापक बन्यो । यद्यपि, अप्रिल मध्यतिर इजरायल र लेबनानबीच युद्धविराम भएपछि तेलको मूल्य घटेर प्रति ब्यारेल ९० डलरसम्म झरेको थियो । त्यसबेला अमेरिकाले पनि इरानमाथि थप आक्रमण नगर्ने संकेत दिएको थियो ।

तर, पछिल्ला दिनहरूमा पुनः नाकाबन्दी र चेतावनीहरू दोहोरिएपछि तेलको मूल्य लगातार बढिरहेको छ । विगत १२ दिनदेखि निरन्तर उकालो लागेको बजारले दीर्घकालीन आपूर्ति संकटको सामना गर्नुपर्ने देखिन्छ । ऊर्जा विज्ञहरूका अनुसार हर्मुज जलडमरूमध्यमा अवरोध लम्बियो भने विश्वव्यापी महँगी थप बढ्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.