इरानको प्रस्तावपछि ट्रम्पको कडा प्रतिक्रिया

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०८:१४

एजेन्सी । इरानले पश्चिम एसियामा जारी संघर्ष अन्त्य गर्न भन्दै अमेरिकासमक्ष १४ बुँदे प्रस्ताव पठाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त प्रस्तावप्रति कडा र संशयपूर्ण प्रतिक्रिया दिएका छन् ।

इरानले आफ्नो प्रस्तावमा लेबनानलगायत विभिन्न मोर्चामा भइरहेका सबै युद्धहरू पूर्ण रूपमा अन्त्य गर्नुपर्ने माग गरेको छ । साथै, होर्मुज जलमार्गमा लगाइएको अवरोध हटाउनुपर्ने र इरानमाथि लगाइएका नौसैनिक प्रतिबन्धहरू खारेज गर्नुपर्ने विषय पनि समेटिएको बताइएको छ ।

इरानले पाकिस्तानमार्फत उक्त प्रस्ताव अमेरिकासमक्ष पठाएको हो । जसको जवाफमा अमेरिकाले यसअघि ९ बुँदे प्रस्ताव पठाएको उल्लेख गरिएको छ ।

अमेरिकी प्रस्तावमा दुई महिनाको युद्धविरामको समयसीमा राखिएको बताइए पनि इरानले भने कुनै पनि अल्पकालीन समाधान स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । इरानको भनाइमा युद्धको समाधान अस्थायी रोकथाम नभई दीर्घकालीन र स्थायी राजनीतिक समझदारीमार्फत हुनुपर्छ भन्ने जोड दिइएको छ ।

इरानले ३० दिनभित्रै बृहत् र स्थायी समाधान खोजिनुपर्ने धारणा पनि राखेको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले शनिबार पत्रकारहरूसँग कुरा गर्दै उक्त इरानी प्रस्तावको समीक्षा गरिरहेको बताए पनि त्यसले ठोस सम्झौताको रूप लिनेमा आफू ढुक्क नभएको संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै इरानले गरेको प्रस्ताव स्वीकार्य हुने सम्भावना कम रहेको टिप्पणी गरेर विगत लामो समयदेखि इरानको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले विगत ४७ वर्षदेखि इरानले अन्तर्राष्ट्रिय समुदायप्रति गरेको व्यवहारको मूल्य अझै पर्याप्त रूपमा चुकाइसकिएको छैन भन्ने टिप्पणीसमेत गरेका छन् ।

उनले यसअघि पनि इरानको अघिल्लो प्रस्ताव अस्वीकार गरिसकेका थिए । यद्यपि, पछिल्ला दिनमा दुवै पक्षबीच संवाद भने जारी रहेको र केही समयका लागि युद्धविराम कायम रहेको जनाइएको छ ।

यसैबीच, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय पनि चर्चामा आएको छ । विश्वको तेल तथा ग्यास व्यापारको ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यस क्षेत्रको अवस्था विश्व अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ ।

इरान र अमेरिकाबीचको कूटनीतिक तनावले आगामी दिनमा क्षेत्रीय स्थिरतामा कस्तो प्रभाव पार्ने हो भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ । अन्तर्राष्ट्रिय समुदायले सधैंका लागि युद्ध अन्त्यको माग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.