
एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये चार महिला र एक बालबालिका रहेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले आक्रमणअघि नाबाटियाह जिल्लाको हबुश क्षेत्र खाली गर्ने चेतावनी जारी गरेको थियो ।
सो क्षेत्रमै भएको आक्रमणमा आठ जनाको मृत्यु भएको बताइएको छ । जसमा दुई महिला र एक बालबालिका पनि परेका छन् ।
त्यसैगरी, सिदोन जिल्लाको जरारियाह क्षेत्रमा भएको छुट्टै आक्रमणमा दुई महिलासहित चार जनाको मृत्यु भएको छ । टायर जिल्लाको ऐन बाल क्षेत्रमा पनि एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणपछि त्रास र तनाव फैलिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ , घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
यसबीच, युद्धविराम अवधि थपिएको भनिए पनि इजरायल र हिजबुल्लाहबीचको तनाव एवं झडप रोकिएको छैन । हिजबुल्लाहले शनिबार इजरायली सैनिक र सैन्य सवारी साधनलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।
इजरायली सेनाले पनि पछिल्लो दिनमा दक्षिणी लेबनानमा भएको झडपमा आफ्ना एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणले स्थिति थप अस्थिर बनाइरहेको छ ।



















