ममता बनर्जी पनि पराजित, बंगालमा भाजपाले पहिलो पटक सरकार बनाउने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०७:०८

विराटनगर । भारतकाे पश्चिम बंगाल विधानसभा चुनावमा मुख्यमन्त्री एवं त्रिमूल कांग्रेसकी नेतृ ममता बनर्जी पराजित भएकी छन् । राज्यको हाई–प्रोफाइल सिट भवानीपुरमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता बनर्जीलाई १५ हजारभन्दा बढी मतको अन्तरले पराजित गरे ।

चुनावी नतिजापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शुभेन्दु अधिकारीले यो जितलाई भाजपा कार्यकर्ताहरूको जित बताएका छन् । ‘ममता बनर्जीलाई हराउनु धेरै आवश्यक थियो, अब उनको राजनीतिक सन्यास भइसकेको छ,’ उनले भनेका छन्,‘ उनलाई मुस्लिम समुदायले खुलेर भोट दिए पनि मलाई हिन्दु, सिख, ईसाई, जैन र बौद्ध धर्मावलम्बीहरूले आशीर्वाद दिएर जिताएका छन् । यो हिन्दुत्वको जित हो, यो बंगाल र नरेन्द्र मोदीको जित हो।’

Advertisement

नतिजा आउनु केही समयअघि मुख्यमन्त्री ममता बनर्जीले भाजपामाथि भोट लुटेको र धाँधली गरेको आरोप लगाइन् । उनले पत्रकारहरूसँग भनिन्,‘भाजपाले १०० भन्दा बढी सिटमा लुटतन्त्र मच्चाएको छ। चुनाव आयोग अब भाजपा आयोग बनेको छ । हामीले पटक–पटक उजुरी दियौँ तर कसैले सुनेनन् ।’

चुनाव आयोगको पछिल्लो तथ्यांक अनुसार २९४ सिटको विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ । बंगालको २९३ सिटको नतिजा घोषणा भएको छ । जसमा भाजपाले २०६ सिट जित्यो । यो सुविधाजनक बहुमत हो । भने ममता बनर्जीको तृणमूल कांग्रेसले ८१ सिट मात्र जित्यो ।

२०२१ को विधानसभा चुनावको तुलनामा, तृणमूल कांग्रेसले १३४ सिट गुमायो । कांग्रेसले दुई सिट जित्यो, हुमायुन कबीरको आम जनता उन्नयन पार्टीले दुई सिट जित्यो ।

सन् २०११ देखि लगातार १५ वर्ष सत्तामा रहेको त्रिमुल कांग्रेसले यस पटक सत्ता गुमाएको छ भने भाजपाले पहिलो पटक बंगालमा सरकार बनाउने भएको छ । अघिल्लो चुनावमा टीएमसीले २१५ र भाजपाले ७७ सिट जितेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.