इरानी आक्रमण रोकेको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार ०६:५४

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू आफ्नो प्रतिरक्षा प्रणालीले रोकेको दाबी गरेको छ ।

मन्त्रालयका अनुसार आक्रमणका क्रममा १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, ३ वटा क्रुज क्षेप्यास्त्र र ४ वटा ड्रोन अवरोध गरिएको हो । उक्त घटनामा तीन जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

यूएईले आफ्नो हवाई रक्षा प्रणाली प्रभावकारी रहेको दाबी गर्दै हालसम्म इरानबाट प्रहार गरिएका कुल ५४९ ब्यालिस्टिक क्षेप्यास्त्र, २९ क्रुज क्षेप्यास्त्र र २,२६० ड्रोन निष्क्रिय पारिएको जानकारी दिएको छ । आक्रमणका क्रममा विभिन्न देशका नागरिक प्रभावित भएका छन् ।

नेपाल, पाकिस्तान, बंगलादेश, भारत, इजिप्ट, यूएई र प्यालेस्टिनी समुदायका गरी हालसम्म १० जनाको मृत्यु भएको छ । २२७ जना घाइते भएको जनाइएको छ । यस्तै, यूएईका तीन सैनिकको पनि ज्यान गएको पुष्टि गरिएको छ ।

रक्षा मन्त्रालयले देशको सुरक्षा अवस्था नियन्त्रणमा रहेको दाबी गर्दै कुनै पनि बाह्य खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय सुरक्षा, स्थिरता र सार्वभौमिकताको रक्षा गर्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.