सपिङ सेन्टरको आगलागीमा परेर आठ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १०:२८

एजेन्सी । इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे सहरस्थित एक सपिङ सेन्टरमा भएको भीषण आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । ३६ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अर्गावन कमर्शल कम्प्लेक्स नामक उक्त भवनमा बिहीबार साँझ आगलागी भएको हो । इरानको सरकारी टेलिभिजन आईआरआईबीले जनाएअनुसार आगलागी स्थानीय समयअनुसार मंगलबार साँझ करिब ४ः४० बजे सुरु भएको थियो ।

Advertisement

केही मिनेटमै आगो भवनका विभिन्न भागमा फैलिएको र ठूलो क्षति भएको बताइएको छ । सो भवनमा २५० भन्दा बढी व्यापारिक इकाइहरू सञ्चालनमा रहेका कारण उद्धार कार्य जटिल बनेको थियो ।

स्थानीय अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै इरानी समाचार संस्था आइएसएनएले भवनको अग्रभागमा प्रयोग गरिएको ज्वलनशील मिश्रित सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको जनाएको छ । आगो नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मीलाई लामो समय लागेको थियो ।

इरानको रेड क्रिसेन्ट सोसाइटीका उद्धार टोली, तालिम प्राप्त कुकुरसहित घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य जारी राखेको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ ।

आगलागीको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रारम्भिक अनुमानमा भवनको निर्माण सामग्री र सुरक्षा कमजोरी प्रमुख कारण हुन सक्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.