कोशीबाट सुरु भयो प्रहरीका लागि निःशुल्क आँखा शिविर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १२:१६

विराटनगर । कोशी प्रदेशबाट नेपाल प्रहरीसँग आबद्ध बहालवाला, पूर्वप्रहरी कर्मचारी तथा तिनका परिवारलाई लक्षित गर्दै निःशुल्क आँखा स्वास्थ्य सेवा अभियान सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार आयोजित शिविरमार्फत अभियानको औपचारिक थालनी गरिएको हो । विराटनगरमा सम्पन्न उक्त शिविरमा २९९ जनाको आँखा परीक्षण गरिएको थियो ।

Advertisement

परीक्षणका क्रममा ११२ जनामा दृष्टिदोष पहिचान भएको चिकित्सकहरूले बताएका छन् । त्यस्तै, २६० जनालाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो भने ६४ जनालाई चश्मासहित सेवा प्रदान गरिएको छ ।

शिविरले प्रहरी संगठनभित्र रहेका आँखा सम्बन्धी समस्याको प्रारम्भिक पहिचानसँगै समयमै उपचारको पहुँच विस्तार गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच देशभरका प्रहरी कर्मचारी, तिनका आश्रित परिवारसमेतलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित सातै प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार कोशी प्रदेशबाट अभियान सुरु गरिएको हो । आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता शिविर सञ्चालन गरिने छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरत चन्दले संयुक्त रूपमा गरेका थिए ।

उनीहरूले यस्तो सहकार्यले प्रहरी संगठनभित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीले शिविर सफल बनाउन योगदान दिने चिकित्सक, प्राविधिक टोली तथा सबै सम्बद्ध पक्षप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले यस्ता सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र स्वास्थ्य सेवाको पहुँच बढाउने बताए ।

नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले स्वास्थ्य शिविरमार्फत आँखा सम्बन्धी समस्या समयमै पहिचान भई उपचार तथा परामर्श प्राप्त हुने भएकाले प्रहरी कर्मचारी र तिनका परिवारलाई राहत मिल्ने बताए । शिविरमा विराटनगर आँखा अस्पतालको प्राविधिक टोलीका साथै अस्पताल प्रबन्धक कुमार पृथुको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.