सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १२:११
सुन पसलमा छिरेर पेस्तोल देखाउने लुटेरा पक्राउ 

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र इन्द्रचोकस्थित भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाएर दिउँसै लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख १७ गते भेडासिंहस्थित ‘नैना एन्ड ईशान ज्वेलरी’ मा छिरेर लुटेराहरूले पेस्तोल देखाउँदै लुट्ने प्रयास गरे पनि पसल सञ्चालिका बबिता रौनियारले डराउनुको साटो साहसिक प्रतिकार गरेकी थिइन् । सञ्चालिकाको प्रतिकारपछि अत्तालिएका लुटेराहरू कुनै पनि सामान लुट्न नपाई त्यहाँबाट भागेका थिए ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनामा संलग्न तीनै जनालाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विवेक राजबाहक र अरुण भुजेल रहेका छन् । महर्जनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो भने विवेक र अरुणलाई काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका अरुण भुजेलको साथबाट लुटपाटमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरेको छ । अनुसन्धानका क्रममा हरिकृष्ण महर्जनले पक्राउबाट बच्नका लागि घटना लगत्तै लुगा फेरेर आफ्नो हुलिया परिवर्तन गरेको समेत खुलेको प्रहरीले जनाएको छ । उनले घटनास्थल नजिकै आफ्नो कपडा फालेर भाग्ने प्रयास गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । उनीहरूको पृष्ठभूमि हेर्दा अन्य लुटपाट र अपराधमा पनि संलग्नता हुन सक्ने देखिएको छ, यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिउँसै व्यस्त बजारमा भएको यो घटनाले सुरक्षा चुनौती थपे पनि पसल सञ्चालिकाको साहसको अहिले सबैतिर प्रशंसा भइरहेको छ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.