
एजेन्सी । अर्जेन्टिनाबाट अप्रिल १ मा यात्रा सुरु गरेको डच झण्डावाहक ‘एमभी होन्डियस’ क्रुज जहाजमा देखिएको प्रकोपमा पाँच जनामा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार थप तीन जनामा संक्रमणको आशंका गरिएको छ । हालसम्म आठ जना बिरामीमध्ये तीन जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये पुष्टि भएका सबैमा दक्षिण अमेरिकामा पाइने एन्डिज भाइरस देखिएको डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।
यो मानिसबाट मानिसमा सर्न सक्ने हान्टाभाइरसको एकमात्र प्रकार मानिन्छ । अर्जेन्टिनाको उसुइयाबाट एटलान्टिक महासागर हुँदै केप भर्डे पुगेको जहाज अहिले स्पेनको टेनेरिफतर्फ गइरहेको छ ।
डब्ल्युएचओले सार्वजनिक स्वास्थ्य सावधानी प्रभावकारी रूपमा पालना गरिए प्रकोप सीमित रहने विश्वास व्यक्त गरेको छ । संक्रमण फैलिन सक्ने अवधि छ सातासम्म रहने भएकाले थप संक्रमित फेला पर्न सक्ने आशंका पनि गरिएको छ ।
डब्ल्युएचओका आपतकालीन सेवा तथा प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले सबै देशबीच समन्वय र सावधानी आवश्यक रहेको बताएका छन् । टेड्रोसले अर्जेन्टिनाले पाँच देशका प्रयोगशालामा दुई हजार पाँच सय परीक्षण किट पठाउने जानकारी दिएका छन् । हान्टाभाइरस सामान्यतया संक्रमित मुसा तथा तिनको पिसाब र दिसाबाट फैलिने दुर्लभ रोग हो ।



















