
एजेन्सी । होर्मुज जलमार्गमा अमेरिका र इरानका नौसेनाबीच भएको गोली हानाहानका क्रममा एउटा भारतीय कार्गो जहाज समुद्रमा डुबेको छ ।
दोहोरो भिडन्ताका क्रममा भारतीय जहाज डुब्दा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ । १७ जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलायाको ‘एमएसभी अल फैज नुर’ नामक कार्गो जहाज हो । जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ सामान बोकेर गइरहेको बेला होर्मुज क्षेत्रमा बढेको सैन्य तनावको चपेटामा परेको बताइएको छ ।
जहाजमा एक बन्दुकधारीसहित १८ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनामा चालक दल सदस्य अल्ताफ तालब केरको मृत्यु भएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिएका छन् । उनले उद्धार र समन्वयका लागि दुबईस्थित भारतीय दूतावासलाई इमेलमार्फत सहयोग आग्रह गरिएको पनि बताएका छन् ।
उता, अमेरिका र इरानले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहेको दाबी गरेको केही घण्टामै होर्मुज क्षेत्रमा पुनः तनाव चर्किएको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी सेनाले जास्क बन्दरगाह नजिक इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको आरोप लगाएको छ । आईआरजीसीका अनुसार त्यसपछि इरानी नौसेनाले जबाफी कारबाही गर्दै विस्फोटक आक्रमण गरेको र अमेरिकी तीन जहाजलाई होर्मुज क्षेत्रबाट पछि हट्न बाध्य बनाएको दाबी गरिएको छ ।
यता अमेरिकाले भने इरानले अमेरिकी नौसेनाको मिसाइल डिस्ट्रोएर प्रणालीलाई निशाना बनाएपछि आत्मरक्षाका लागि प्रत्याक्रमण गरिएको जनाएको छ । अमेरिकी पक्षले इरानी साना डुंगाहरू ध्वस्त पारिएको र ठूलो क्षति पुर्याइएको दाबी पनि गरेको छ ।
दुवै देशबीच तनाव चर्किँदै जाँदा विश्वकै संवेदनशील मानिने होर्मुज जलमार्ग पुनः युद्धको जोखिमतर्फ धकेलिएको विश्लेषण गरिएको छ ।



















