ट्रम्पको दाबी : रुस–युक्रेनबीच तीन दिने युद्धविराम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ०९:१६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच आगामी मे ९ देखि ११ सम्म तीन दिने युद्धविराम भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भनाइमा ट्रम्पले उक्त अवधिमा दुवै देशले कुनै पनि प्रकारको सैन्य कारबाही नगर्ने सहमति भएको उल्लेख गरेका छन् । उनले यस क्रममा करिब एक हजार युद्धबन्दीको आदानप्रदान हुने दाबी पनि गरेका छन् ।

Advertisement

ट्रम्पका अनुसार उनको पहलपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्थायी युद्धविराममा सहमति जनाएका हुन् । उनले युद्धविराम सुरुमा तीन दिनका लागि भए पनि परिस्थिति अनुसार थप विस्तार हुन सक्ने संकेतसमेत गरेका छन् ।

उनले आफूले हालसम्म नौवटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्यमा भूमिका खेलेको दाबी गर्दै रुस–युक्रेन युद्धलाई आफ्नो दसौं शान्ति पहल बनाउने लक्ष्य राखेको पनि बताएका छन् । यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईका अनुसार ह्वाइट हाउसबाट भर्जिनिया प्रस्थान गर्नु अघि ट्रम्पले रुस–युक्रेन युद्धलाई दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा खतरनाक द्वन्द्वमध्ये एक भएको टिप्पणी गरेका थिए ।

यद्यपि, हालसम्म रुस, युक्रेन वा अन्य आधिकारिक पक्षबाट यो युद्धविरामबारे कुनै स्वतन्त्र पुष्टि सार्वजनिक भएको छैन । त्यसैले ट्रम्पको यो दाबीलाई कूटनीतिक संकेत र व्यक्तिगत भनाइका रूपमा मात्र लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.