
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्यतिर आउँदै गरेको बताएका छन् । शान्ति सम्झौता अन्तिम चरणमा पुगेमा आफू तेस्रो मुलुकमा युक्रेनी समकक्षी भ्लोडिमिर जेलेन्स्कीसँग भेट्न इच्छुक रहेको उनले बताए ।
रुसको वार्षिक भिक्ट्री डे परेडका अवसरमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुटिनले यस्तो धारणा राखेका हुन् । अहिले रुस र युक्रेनबिच तीन दिने युद्धविराम सुरु भएको छ भने दुवै देश १ हजार कैदी साटासाट गर्न सहमत भएका छन् । यी घटनाक्रमले कूटनीतिक प्रगतिको नयाँ आशा जगाएका छन् ।
परेडका क्रममा पुटिनले युक्रेनमा लडिरहेका रुसी सेनाको प्रशंसा गर्दै उनीहरूको मिसनलाई नेटोविरुद्धको न्यायपूर्ण कार्यका रूपमा चित्रण गरे । मस्कोको रेड स्क्वायरमा सैनिकहरूलाई सम्बोधन गर्दै उनले विजय सधैं आफूहरूको हुने दाबी गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा दुवै देश शनिबारदेखि सोमबारसम्मका लागि युद्धविराम गर्न सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो युद्धविराममा सबै सैन्य गतिविधि रोकिने र १ हजार कैदीहरूको आदानप्रदान हुने उल्लेख गरे । उनले युद्ध अन्त्यका लागि भइरहेको कुराकानी हरेक दिन सहमति नजिक पुगिरहेको समेत बताए ।
जेलेन्स्कीले यसअघि नै पुटिनसँग वार्ताको प्रस्ताव राखेका थिए तर मस्को जान अस्वीकार गरे । शनिबार पुटिनले वार्ताका लागि नभई तयार भइसकेको शान्ति सम्झौतामा हस्ताक्षर गर्न मात्र तेस्रो मुलुकमा भेट्न सकिने स्पष्ट पारे । दीर्घकालीन ऐतिहासिक परिप्रेक्ष्यमा आधारित शान्ति सन्धि तयार भएपछि मात्र भेटघाट सम्भव हुने उनको अडान छ ।
सन् १९९९ को अन्त्यदेखि सत्तामा रहेका पुटिनले अहिले युक्रेन युद्धका कारण रुसी अर्थतन्त्र र समाजमा उत्पन्न दबाबको सामना गरिरहेका छन् । चार वर्षभन्दा लामो समयदेखि जारी यस युद्धले ठुलो जनधनको क्षति पुर्याएको छ । रुसले हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । युरोपेली देशहरूसँगको सुरक्षा वार्ताका सम्बन्धमा सोधिएको प्रश्नमा पुटिनले जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडरसँग संवाद गर्न आफूलाई सहज हुने बताए ।



















