
एजेन्सी । इरान र अमेरिकाबीचको शान्ति वार्ता पुनः अन्योलमा परेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ ।
मध्यपूर्वको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको सुरक्षा र सञ्चालनबारे अनिश्चितता बढेसँगै आपूर्ति प्रभावित हुने चिन्ताले मूल्य बढाएको हो । आइतबारको कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३.१७ प्रतिशतले बढ्दै प्रति ब्यारेल १०४.५० अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी कच्चा तेल (डब्लुटीआई) पनि ३.२१ प्रतिशतले बढेर प्रति ब्यारेल ९८.४८ डलरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्लेषकहरूका अनुसार हालको मूल्य वृद्धि पछिल्लो महिनाको तुलनामा उल्लेखनीय हो । जसमा ब्रेन्ट क्रुड प्रति ब्यारेल करिब २० डलरले महँगिएको छ ।
वार्ता अवरुद्ध भएसँगै क्षेत्रीय तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो वार्ता प्रस्तावलाई अस्वीकार गरेपछि परिस्थिति अझ जटिल बनेको छ । इरानले पाकिस्तानमार्फत पठाएको प्रस्तावमा तत्काल युद्धविराम र पुनः आक्रमण नहुने ग्यारेन्टी माग गरिएको थियो ।
यसैबीच, स्ट्रेट अफ होर्मुज वरिपरि सैन्य गतिविधि बढेपछि विश्व तेल आपूर्तिमा जोखिम बढेको छ । इरानी अधिकारीहरूले प्रतिबन्ध लागू गर्ने देशका जहाजलाई जलमार्ग प्रयोग गर्दा कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
अर्कोतर्फ, अमेरिकी सेनाले केही इरानी तेल ट्यांकरहरुलाई लक्षित गर्दै कारबाही गरेको रिपोर्टसमेत सार्वजनिक भएको छ ।



















