‘इरान कमजोर नहुँदासम्म हिजबुल्लाहविरुद्धको युद्ध रोकिँदैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १२:०२

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सक्रिय शिया लडाकु समूह हिजबुल्लाहविरुद्धको सैन्य अभियान कुनै पनि अवस्थामा नरोकिने बताएका छन् । उनले इरानसँग सम्भावित शान्ति सम्झौता भए पनि हिजबुल्लाहसँगको संघर्ष अन्त्य नहुने स्पष्ट पारेका हुन् ।

अमेरिकी समाचार संस्था सीबीएससँगको अन्तर्वार्तामा नेतान्याहुले अमेरिका र इजरायलबीच इरानसँग हुने सम्भावित समझदारीले हिजबुल्लाहविरुद्धको कारबाहीमा कुनै असर नपार्ने बताएका हुन् । इरानसँग सम्झौता गरेर हिजबुल्लाहसँगको शत्रुता अन्त्य गर्न इजरायल तयार हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा ‘हुँदैन’ भन्ने जवाफ दिएका छन् ।

Advertisement

अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो प्रस्ताव अघि सारेमा इजरायलको धारणा के हुन्छ भन्ने प्रश्न पनि उठाइएको थियो । तर, त्यस विषयमा नेतान्याहुले प्रत्यक्ष प्रतिक्रिया दिन चाहेनन् ।

उनले मध्यपूर्वमा जारी द्वन्द्व र अस्थिरताको मुख्य कारण इरान रहेको दाबी गर्दै इरानको शक्ति कमजोर पार्नु वा त्यहाँको शासन परिवर्तन हुनु नै क्षेत्रीय सशस्त्र समूहहरूको अन्त्यको आधार हुने बताएका छन् । उनका अनुसार इरान कमजोर बनेमा हिजबुल्लाह, हमास तथा यमनका हुथी विद्रोहीहरूको सञ्जाल स्वतः धराशायी हुनेछ ।

नेतान्याहुको पछिल्लो अभिव्यक्तिले लेबनान सीमामा जारी तनाव तत्काल कम हुने सम्भावना नरहेको संकेत गरेको छ । इजरायल र हिजबुल्लाहबीच लामो समयदेखि जारी सैन्य तनाव पछिल्ला महिनाहरूमा अझ चर्किंदै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.