सान फ्रान्सिस्कोको सडकमा ‘नेपाल उत्सव’: झाँकी र परेडले नेपालीमय बन्यो सहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १४:२४

सान फ्रान्सिस्को। अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, वेशभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा अमेरिकाका विभिन्न सहरबाट नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्निया र स्थानीय संस्थाहरूको संयुक्त आयोजनामा यो उत्सव भएको हो।

उत्सवको मुख्य आकर्षण सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको ‘नेपाल डे परेड’ रह्यो। एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको उक्त परेडका लागि सहरको मुख्य मार्केट स्ट्रिटमा सवारी आवागमन नै बन्द गरिएको थियो। परेडमा विभिन्न जातीय झाँकी, पञ्चेबाजा, धिमे, लाखे नाच, कुमारी र पञ्चकन्याको प्रदर्शनले सान फ्रान्सिस्कोको सडकलाई नेपालीमय बनाएको थियो।

Advertisement

नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकीहरूले पनि रुचिपूर्वक अवलोकन गरे। कार्यक्रममा नेपाली समुदायलाई हौसला दिन स्थानीय जनप्रतिनिधि, बे एरियाका मेयर, सिटी काउन्सिल सदस्य र विभिन्न देशका कूटनीतिक अधिकारीहरूको सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए। लस एन्जलस, सानडिएगो र साक्रामेन्टो लगायतका आसपासका सहरबाट समेत ठुलो सङ्ख्यामा नेपालीहरू उत्सवमा सहभागी हुन पुगेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.