
एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नू क्षेत्रमा भएको आत्मघाती आक्रमणपछि पाकिस्तान–अफगानिस्तान सम्बन्ध फेरि तनावपूर्ण बनेको छ ।
पाकिस्तानले आक्रमणमा अफगानिस्तानमा आश्रय लिएका आतंककारी समूहको संलग्नता रहेको दाबी गर्दै काबुलमाथि कडा आपत्ति जनाएको हो । शनिबार भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।
सुरक्षा चौकीलाई लक्षित गर्दै कार बम विस्फोट गराइएको थियो भने त्यसपछि सशस्त्र समूहले गोली प्रहार गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । घटनामा ठूलो संख्यामा लडाकू सहभागी भएको र आधुनिक हतियारसमेत प्रयोग भएको दाबी गरिएको छ ।
घटनापछि पाकिस्तानको विदेश मन्त्रालयले अफगान कार्यवाहक राजदूतलाई बोलाएर औपचारिक विरोध जनाएको छ । मन्त्रालयले अनुसन्धान तथा गुप्तचर सूचनाका आधारमा आक्रमणको योजना अफगानिस्तानबाट बनेको निष्कर्ष निकालिएको उल्लेख गरेको छ ।
यता अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानका आरोप अस्वीकार गरेको छ । अफगान भूमिलाई कुनै पनि आतंकवादी गतिविधिका लागि प्रयोग गर्न नदिएको काबुलको दाबी छ । तालिबान प्रशासनले पाकिस्तानले प्रमाणबिनै राजनीतिक आरोप लगाएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बन्नू क्षेत्र पछिल्ला वर्षहरूमा आतंकवादी गतिविधिका कारण असुरक्षित बन्दै गएको छ । विशेषगरी अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएपछि सीमावर्ती क्षेत्रमा हिंसात्मक गतिविधि बढेको भनेर पाकिस्तानले चिन्ता व्यक्त गर्दै आएको छ ।
पछिल्लो घटनाले दुई देशबीचको अविश्वास अझ बढाउने देखिन्छ । सीमापार सुरक्षा, शरणार्थी र आतंकवाद नियन्त्रणका विषयमा सहकार्य कमजोर बन्दै जाँदा क्षेत्रीय सुरक्षा चुनौती थप जटिल बन्न सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् ।



















