अफ्रिकामा संयुक्त सैन्य कारबाही : आईएसआईएसका वरिष्ठ कमाण्डर मारिएको ट्रम्पको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०६:५३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेना र नाइजेरियाली सुरक्षाकर्मीको संयुक्त अभियानमा आईएसआईएससँग सम्बद्ध एक वरिष्ठ कमाण्डर मारिएको घोषणा गरेका छन् ।

ट्रम्पका अनुसार मारिएका व्यक्ति अबु–बिलाल अल–मिनुकी हुन् । जसलाई उनले विश्वकै दोस्रो उच्च सक्रिय ‘आतंकवादी’को रूपमा चित्रण गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अफ्रिकामा सञ्चालन गरिएको सैन्य कारबाही अत्यन्त गोप्य, कठिन र रणनीतिक रूपमा सफल भएको बताएका हुन् ।

Advertisement

उनले अभियान आफ्नै निर्देशनमा सञ्चालन गरिएको उल्लेख गर्दै यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिमा सक्रिय रहेको नेतृत्व तहको व्यक्तिलाई समाप्त गर्नु रहेको जनाएका छन् । ट्रम्पका अनुसार अल–मिनुकी लामो समयदेखि अफ्रिकाको विभिन्न क्षेत्रमा लुकेर बसेका थिए ।

अमेरिकी पक्षसँग उनका गतिविधिबारे नियमित सूचना आउने स्रोत रहेको दाबी गर्दै उनले ती व्यक्तिले अफ्रिकाका सर्वसाधारणलाई त्रसित बनाउने तथा अमेरिकी नागरिकविरुद्ध सम्भावित आक्रमणको योजना बनाउन सहयोग गरिरहेको आरोप लगाए । उनले अबु–बिलाल अल–मिनुकीको मृत्युले आईएसआईएसको अन्तर्राष्ट्रिय सञ्जालमा ठूलो धक्का पुगेको दाबी गरेका छन् ।

ट्रम्पले यस कारबाहीपछि उक्त संगठनको सञ्चालन क्षमता कमजोर हुने र विश्वव्यापी प्रभाव घट्ने बताएका छन् । अभियानमा सहकार्य गरेको भन्दै ट्रम्पले नाइजेरियाली सरकार र त्यहाँका सुरक्षा निकायप्रति आभारसमेत व्यक्त गरेका छन् । अमेरिकी र नाइजेरियाली सेनाबीचको समन्वयले कारबाही सफल भएको उनको भनाइ छ ।

यद्यपि, अमेरिकी प्रशासनले अहिलेसम्म उक्त अभियानको विस्तृत सैन्य विवरण सार्वजनिक गरेको छैन । नाइजेरियाली सरकारको तर्फबाट पनि औपचारिक विस्तृत प्रतिक्रिया आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.