प्रिमनसुनमै झरी, मनसुनमा खडेरीको डर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०८:४९

काठमाडौं । यस वर्ष चैतदेखि वैशाखसम्म नेपालभर अस्वाभाविक रूपमा लगातार वर्षा, असिना र हिमपात हुँदा गर्मीयाममै चिसोपन बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले प्रिमनसुन अवधिमा सामान्यभन्दा झन्डै तीन गुणासम्म बढी वर्षा भएको हो । काठमाडौंमा मात्रै वैशाख अन्तिम सातासम्म २३० मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

Advertisement

सामान्यतया यो अवधिमा करिब १०० मिलिमिटर मात्रै वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन् । पश्चिमी वायु बारम्बार सक्रिय हुँदा देशका धेरै ठाउँमा पानी, असिना र हिमपातसमेत भएको हो ।

मौसमविद् मदन सिग्देलका अनुसार हिउँद सकिएपछि पश्चिमी वायु असामान्य रूपमा सक्रिय हुँदा वर्षा बढेको हो । मौसमविद् उज्ज्वल उपाध्यायले फिलिपिन्स आसपास बनेको शक्तिशाली आँधीको प्रभावले दक्षिण एशियाका धेरै देशमा वर्षा बढाएको बताए ।

लगातारको वर्षाले वन डढेलो कम भए पनि खेतीपातीमा असर परेको छ । गहुँ, मसुरोलगायत बाली भित्र्याउन किसानलाई समस्या भएको छ भने पूर्वी तराईका केही जिल्लामा मुग र जुट खेतीको तयारीसमेत प्रभावित भएको छ । असिना र हुरीले मकै, केरा तथा तरकारी खेतीमा क्षति पुर्‍याएको कृषि विज्ञहरूको भनाइ छ ।

यता मौसमविद्हरूले आगामी मनसुन भने कमजोर हुनसक्ने चेतावनी दिएका छन् । प्रशान्त महासागरमा विकसित एलनिनो प्रभावका कारण यस वर्ष सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा लामो सुक्खा र कतै एकैपटक भारी वर्षा हुने जोखिम पनि देखिएको छ ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षमा नेपालको मौसम झन् अनिश्चित र संवेदनशील बन्दै गएको छ । त्यसैले बाढी, पहिरो, खडेरी र कृषि संकटको जोखिमलाई ध्यानमा राखेर समयमै तयारी र सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.