होर्मुज जलमार्गमा इरानको नयाँ आवतजावत प्रणाली घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ०८:२२

एजेन्सी । इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको होर्मुज जलमार्गमा जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्ने घोषणा गरेको छ ।

इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले यो प्रणाली चाँडै कार्यान्वयनमा आउने बताएका छन् । उनका अनुसार नयाँ व्यवस्था इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय व्यापार सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको हो ।

Advertisement

यस प्रणालीमार्फत होर्मुज जलमार्ग हुँदै यात्रा गर्ने व्यापारिक जहाजहरूलाई इरानसँग सहकार्य गर्ने देशका जहाजहरूलाई प्राथमिकता दिइनेछ । त्यस्ता जहाजहरूले मात्र निश्चित सेवा र सुविधाबाट लाभ लिन सक्ने व्यवस्था रहने बताइएको छ । साथै, ती सेवाहरूका लागि कर वा शुल्क पनि लागू गरिने जनाइएको छ ।

यसैबीच, इरानका वरिष्ठ राजनीतिक सल्लाहकार मोहम्मद मोख्बरले कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई)लाई कडा चेतावनी दिएका छन् । उनले ती देशहरूले आफ्नो भू–भाग इरानका विरोधी शक्तिहरूका लागि प्रयोग गर्न दिएको आरोप लगाउँदै त्यसले क्षेत्रीय तनाव बढाएको टिप्पणी गरेका छन् ।

मोख्बरले इरानले अहिलेसम्म संयम देखाउँदै आएको भए पनि त्यो सधैं कायम नरहने चेतावनीसमेत दिएका छन् । उनले लामो समयदेखि छिमेकी देशहरूलाई मित्रका रूपमा हेर्दै आएको उल्लेख गर्दै अहिलेको अवस्थाले सम्बन्धमा तनाव उत्पन्न भएको संकेत गरेका छन् ।

होर्मुज जलमार्ग विश्वको तेल आपूर्तिको प्रमुख मार्ग भएकाले यहाँ हुने कुनै पनि नयाँ नियम वा तनावले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.