
विराटनगर । सुनसरी जिल्ला अदालतबाट धरौटी बुझाएर छुट्नुपर्ने आदेश दिएपछि प्रहरीलाई झुक्याउँदै फरार भएका १९ वर्षीय सुरज खड्का अन्ततः पक्राउ परेका छन् ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भई हाल इटहरी–२ मा बस्दै आएका खड्का चोरी मुद्दामा प्रतिवादी थिए । इटहरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत अदालतमा पेस गरिएका उनलाई थुनछेक बहसपछि अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर, धरौटी रकम तिर्न नसकेको अवस्थामा कारागार जानुपर्ने भएपछि प्रहरीलाई झुक्याउँदै अदालत परिसरबाटै उनी वैशाख ८ गते साँझ भागेका थिए । प्रहरीका अनुसार उनी ‘खाजा खान जान्छु’ भन्दै निस्किएर फरार भएका उनी हेटौँडाबाट पक्राउ परेका हुन् ।
फरार भएपछि उनी पोखरा पुगेका थिए । त्यहाँ होटलमा बसेर विदेशी पर्यटकको कोठाबाट आइफोन र ल्यापटप चोरी गरेको अनुसन्धानले देखाएको छ । चोरी गरेपछि उनले फोन उठाएर आफूलाई प्रहरी भएको भन्दै फोनधनीसँग लक कोड माग्ने प्रयास समेत गरेका थिए ।
‘तपाईंको फोन भेटिएको छ । भेरिफाइ कोड दिनुहोस्’ भन्ने शैलीमा गरिएको ठगी प्रयास नै अनुसन्धानमा महत्वपूर्ण संकेत बनेको प्रहरीले जनाएको छ । कास्की र इटहरी प्रहरीको संयुक्त टोलीले खड्कालाई शुक्रबार हेटौँडाबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । अदालतबाट फरार भएको घटना र पोखरामा भएको चोरी दुवै विषयमा उनीमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



















