तीन जना पक्राउ, ५९० कार्टुन भेप बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ११:५०

मुस्ताङ । ठूलो परिमाणमा अवैध रूपमा ल्याइँदै गरेको चाइनिज भेप मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार राति दुईवटा कन्टेनरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोशी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन् ।

Advertisement

उनीहरू कोरोला नाका हुँदै काठमाडौंतर्फ भेप ल्याइरहेको अवस्थामा नियन्त्रणमा परेका हुन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी तथा मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले ना ६ ख ४७४३ र ना ५ख ७९२१ नम्बरका कन्टेनर जाँच गर्ने क्रममा ५९० कार्टुन भेप फेला पारेको थियो ।

कन्टेनरबाट भेपसँगै २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा सामान प्याकिङमा प्रयोग हुने १५ किलो खाली कार्टुन बक्स समेत फेला परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.