
त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–१२ साधना टोलमा विषाक्त बजारबाट ल्याएको दाल पकाएर खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । एक जनाको अवस्था गम्भीर छ ।
स्थानीयका अनुसार बिरामी पर्नेमा २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी, १४ वर्षीया यशोदा बुढाथोकी र ९ वर्षीया यासिका बुढाथोकी रहेका छन् । उनीहरुलाई शनिबार घरमा बजारबाट ल्याइएको मुसुरोको दालसहितको खाना खाएपछि रातिदेखि नै बान्ता हुने र बेहोस हुने समस्या देखिएको थियो । त्यसपछि आफन्त र स्थानीयले चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएका थिए ।
जिल्ला अस्पतालका अनुसार योगेश, यशोदा र यासिकाको उपचारपछि घर फर्किएका छन् । तर, हेमाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको अस्पतालका प्रमुख डा. मुकेश झाले जानकारी दिए ।
हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । घरमा हेमा, उनका छोरा र दुई नन्द बस्दै आएका थिए ।

























