
विराटनगर । विराटनगर महानगरपालिकाभित्र फोहोर व्यवस्थापन प्रभावकारी हुन सकिरहेको छैन । सहरका विभिन्न स्थानमा फोहोरको डंगुर थुप्रिएको छ ।
कलकारखाना, होटल, अस्पताल र घरहरूबाट निस्किने फोहोरका कारण चिल्ला सडकका कुइनेटा र कुनाहरू कुरुप देखिन थालेका छन् । महानगरमा २०६७ देखि फोहोरमैला व्यवस्थापन ऐन बनेको थियो । उक्त ऐनमा हानिकारक फोहोरमैला सही रूपमा व्यवस्थापन नगरे फोहोर उत्पादक व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रावधान छ । तर, जथाभावी फोहोर फाल्ने प्रवृत्ति र व्यवस्थापनमा भएको चरम लापरबाहीका कारण सहर दुर्गन्धित बन्दै गएको छ ।
विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत कामको जिम्मा ३ वटा छुट्टाछुट्टै संस्थालाई दिएको छ । नेपाल फुलबारी संस्थाले वडा नम्बर १, २, ३, ४, ५ र १९ तथा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले वडा नम्बर ६ देखि ११ सम्म र सगरमाथा मल्टी सर्भिस सेन्टरले वडा नम्बर १२ देखि १८ सम्मको फोहोर व्यवस्थापनको जिम्मा लिएका छन् ।
विराटनगर महानगरपालिकाको फोहोरमैला तथा सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहाल फोहोर व्यवस्थापनमा स्थानीय पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँछन् । मुलुकी खबरसँग कुरा गर्दै दाहालले भने, ‘स्थानीयले फोहोर व्यवस्थापन भएन भनेर सम्बन्धित निकायलाई प्रश्न गरिरहँदा, मैले कति जिम्मेवारी बोध गरेको छु ? म आफू जथाभावी फोहोर फाल्दिन, के तपाईं फाल्नुहुन्छ ? भनेर आफैंलाई प्रश्न गर्न जरुरी छ ।’
फोहोर उठाउँदैमा मात्र नगर सफा नहुने तर्क गर्दै उनले थपे, ‘हामीले जथाभावी फोहोर नगरी निश्चित ठाउँमा मात्र थुपार्ने बानी गर्यौं भने विराटनगर सोचेजस्तै सफा हुनेछ ।’ तर, दाहालको भनाइले फोहोर व्यवस्थापनमा महानगर जिम्मेवार हिसाबले प्रस्तुत भएको छैन भन्ने कुराको पुष्टि हुन्छ ।
फोहोर व्यवस्थापनका लागि घरैपिच्छे शुल्क लिने र उपयुक्त हिसाबले फोहोर व्यवस्थापन नगर्ने परिपाटीका कारण विराटनगर दुर्गन्धित पनि बन्दै गएको छ । महानगर आफ्नो जिम्मेवारीबाट भाग्दैछ । पछिल्लो समय महानगरका जनप्रतिनिधि र कर्मचारीको कार्यशैली एवं गतिविधिप्रति व्यापक प्रश्न उठिरहेको छ ।
स्थानीयले भने फोहोरमैला व्यवस्थापन समितिले आफ्नो काम जिम्मेवारीपूर्वक नगरेको स्थानीयको आरोप छ । विराटनगर–१० की उर्मिला श्रेष्ठका अनुसार खाली स्थान देख्नासाथ मानिसहरूले फोहोरको डंगुर लगाउने गरेका छन् । आफ्नै घर अगाडिको खाली जमिनमा फोहोर थुपारिँदा दुर्गन्धले पीडित बन्नु परेको गुनासो उनले गरिन् ।
‘महानगरको गाडी आएका बेला खाली ठाउँको फोहोर उठाउन मान्दैनन्, ।घरको मात्र उठाउँछन्,’ श्रेष्ठले भनिन्, ‘खाली जमिनको फोहोर लैजान आग्रह गर्दा कर्मचारीहरूले उल्टै पैसा माग्ने गरेका छन् ।’ बाटो छेउमा फालिएका फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा चाहिँ कुन निकायको हो ? भनेर उनले प्रश्न गरिन् ।
महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश ठाकुरका अनुसार विराटनगरमा रहेका ५८ हजार घरधुरीमध्ये फोहोर व्यवस्थापन वापतको शुल्क तिर्ने जम्मा २२ हजार मात्र छन् । प्लाष्टिकजन्य फोहोरलाई वर्गीकरण गरेर पुनः प्रयोगका लागि कबाडी कम्पनीलाई दिने गरिएको ठाकुरले बताए ।
महानगरपालिकाले फोहोर व्यवस्थापनमा आफूहरू सशक्त रहेको दाबी गरिरहे पनि जताततै देखिने प्लाष्टिकजन्य लगायतका विभिन्न प्रकारका फोहोर र त्यसले निम्त्याउने स्वास्थ्य समस्याका बारेमा भने ठोस कदम चालेको देखिँदैन । सडक किनारमा छरिएका प्लाष्टिक र फोहोरले सहरको सौन्दर्य बिगार्नुका साथै नगरवासीको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ ।
विराटनगरमा जताततै देखिने फोहोरको दीर्घकालीन समाधान खोज्न अब ढिला भइसकेको सरोकारवाला बताउँछन् । एक पक्षले अर्को पक्षलाई मात्र दोषारोपण गर्नुभन्दा नागरिक आफैं सचेत हुन र सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।
उनीहरुका अनुसार घरबाटै निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर व्यवस्थापन गर्न सके यो समस्याबाट छिट्टै छुटकारा पाउन सकिन्छ । ‘महानगर र स्थानीय दुवै पक्ष मर्यादित भएर कर्तव्यपथमा लागे विराटनगर स्वच्छ र सफा सहर बन्न सक्छ,’ उनीहरु भन्छन् ।
तर, विराटनगरका निर्वाचित जनप्रतिनिधि र कर्मचारीमाथि स्वार्थपूर्ण हिसाबले काम गर्ने गरेको आरोप लागिरहेको छ । ‘मेयर, उपमेयरलगायतका जनप्रतिनिधि आफ्नो स्वार्थ र व्यक्तिगत फाइदामा केन्द्रित छन् । फोहोरका कारण विराटनगर दुर्गन्धित हुँदा उनीहरुलाई वास्तै छैन । यस्तो हिसाबले विराटनगर स्वच्छ र सफा हुन्छ भन्ने कल्पना गर्न सकिँदैन,’ महानगरका स्थानीय भन्छन् । पछिल्लो समय महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीदेखि लिएर कर्मचारीसमेत अनेक हिसाबले आलोचित भइरहेका छन् ।



















