
काठमाडौं । नेपाल प्रहरीका डीआईजी (प्रहरी नायब महानिरीक्षक) र एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) तहको सरुवा लामो समयदेखि रोकिँदा अन्योलता उत्पन्न भएको छ ।
सरुवा रोकिँदा प्रहरी संगठनभित्र असन्तुष्टि पनि चुलिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको सरुवासम्बन्धी प्रस्ताव केही सातादेखि निर्णयविहीन अवस्थामा थन्किएपछि काठमाडौंदेखि प्रदेश प्रहरी नेतृत्वसम्म शक्ति संघर्ष चर्किएको हो । स्रोतका अनुसार शक्ति केन्द्रको स्वार्थले डीआईजी र एसएसपीको सरुवा अन्योलमा परेको हो ।
हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफैं सम्हालिरहेका छन् । तर, प्रहरी नेतृत्व, गृह प्रशासन र प्रधानमन्त्री सचिवालयबीच आवश्यक समन्वय हुन नसक्दा सरुवा प्रक्रिया प्रभावित बनेको छ । विशेषगरी मधेश र सुदूरपश्चिम प्रदेशका डीआईजी, काठमाडौं उपत्यकाका प्रहरी प्रमुख तथा विभिन्न तालिम केन्द्रमा कार्यरत एसएसपीहरूको सरुवा रोकिएको छ ।
नेपाल प्रहरीमा एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षक (आईजीपी)लाई भए पनि एसएसपी र डीआईजीको सरुवा गृह मन्त्रालयमार्फत हुने व्यवस्था छ । एआईजीको सरुवा मन्त्रिपरिषद्ले गर्ने प्रावधान छ । यद्यपि, एसपीसम्मको सरुवामा समेत विभागीय मन्त्री र गृह सचिवसँग समन्वय गर्ने पुरानो अभ्यास रहँदै आएको छ ।
वैशाखमै हुनुपर्ने केही सरुवा समन्वय अभावकै कारण ढिलो गरी जेठ १ गते मात्रै गरिएको थियो । त्यसबेला ४६ जना एसपी र १४९ जना डीएसपीको सरुवा भएको थियो । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ती सरुवाका क्रममा आईजीपी दानबहादुर कार्कीले प्रधानमन्त्रीसँग भेटेर समन्वय गर्ने प्रयास गरेका थिए ।
तर, समय नपाएपछि उनले गृह सचिव राजकुमार श्रेष्ठसँग समन्वय गरे । प्रधानमन्त्रीसँग प्रत्यक्ष समन्वय हुन नसकेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग समेत छलफल गरिएको प्रहरी स्रोतको दाबी छ ।
हाल मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया विभिन्न संदिग्ध व्यक्तिसँगको आर्थिक कारोबारको विषयलाई लिएर विवादमा तानिएका छन् । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी शेखर खनाललाई पठाउने प्रस्ताव गरिएको छ । त्यस्तै, अख्तियारमा भने उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी ओम अधिकारीलाई पठाउने तयारी छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी ओमबहादुर रानामाथि कमजोर कमाण्डको आरोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी भएको स्रोतले जनाएको छ । उनको ठाउँमा हेडक्वार्टरमा रहेका डीआईजी सानुराम भट्टराईलाई पठाउने चर्चा छ ।
यसैबीच काठमाडौं र ललितपुर प्रहरी प्रमुखको सरुवालाई लिएर सबैभन्दा बढी चासो र दबाब देखिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाको नियमित कार्यअवधि अझै बाँकी रहे पनि उनलाई हटाउने तयारी भइरहेको छ । तर, कार्यअवधि पूरा नहुँदै किन फेर्ने भन्ने स्पष्ट आधार गृह मन्त्रालयले तयार गर्न सकेको छैन ।
ललितपुरमा कार्यरत एसएसपी होविन्द्र बोगटीको पनि नियमित कार्यअवधि सकिएको छैन । त्यसैले दुवै जिल्लाको नेतृत्व परिवर्तनलाई लिएर प्रहरीभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ । २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि काठमाडौं र ललितपुर दुवै जिल्लाका प्रहरी प्रमुख फेरिएका थिए । अहिले फेरि नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला विभिन्न शक्ति केन्द्र सक्रिय बनेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सचिवालय, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको सचिवालयले आआफ्ना निकटका अधिकृतलाई अघि सार्न खोजेका कारण एसएसपी सरुवा झन् जटिल बनेको हो । एसएसपी सरुवाको औपचारिक अधिकार गृह सचिवसँग भए पनि विभागीय मन्त्रीसँग समन्वय गरेर निर्णय गर्ने अभ्यास छ । तर, गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहले प्रहरी सरुवाप्रति विशेष रुचि नदेखाएको आरोपसमेत लाग्न थालेको छ ।
काठमाडौं प्रहरी प्रमुखका लागि एसएसपी दयानिधी ज्ञवाली, दिलिप घिमिरे, शिवकुमार श्रेष्ठ र अजय केसी चर्चामा छन् । तीमध्ये शिवकुमार श्रेष्ठलाई काठमाडौं पठाउने चर्चा बढी छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अझै अधुरो रहेकाले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत श्रेष्ठलाई त्यहाँ पठाउने तयारी भइरहेको बताइन्छ ।
ललितपुरमा पनि काठमाडौंका लागि चर्चामा रहेका तिनै अधिकृतमध्ये एक जनालाई पठाउने सम्भावना छ । सामान्यतया काठमाडौं सरुवा हुने अधिकृतपछि ललितपुरको नेतृत्व तय हुने अभ्यास रहँदै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।
यस्तै, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका एसएसपी सन्तोषसिंह राठौर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका गोविन्द अधिकारी, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रभुप्रसाद ढकाल, युक्ति तालिम महाविद्यालय जर्गाहा बर्दघाट सुस्ता पश्चिमका अनुपमसमशेर जबरा, लागुऔषध नियन्त्रण ब्युरोका कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोका कृष्णप्रसाद पंगेनीको पनि सरुवा हुन सक्ने चर्चा चलिरहेको छ ।

























