दक्ष जनशक्ति भर्ना र सीप परीक्षण सम्बन्धी बिर्तामोडमा अन्तरक्रिया

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १५:४४
 दक्ष जनशक्ति भर्ना र सीप परीक्षण सम्बन्धी बिर्तामोडमा अन्तरक्रिया

विराटनगर । नेपाली उद्योग र व्यवसाय क्षेत्रलाई प्रतिस्पर्धी बनाउन दक्ष जनशक्ति र उनीहरूको सीप प्रमाणीकरणको विषयमा झापाको बिर्तामोडमा अन्तरक्रिया सम्पन्न भएको छ ।

उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च झापाको समन्वयमा आयोजित उक्त कार्यक्रममा ‘पूर्व सिकाइको मान्यता’ विधिद्वारा सीप परीक्षण र ‘राष्ट्रिय दक्षता मापदण्ड’ अनुसार जनशक्ति भर्ना प्रक्रियाबारे गहन छलफल भएको हो । कार्यक्रमलाई एन.भि.क्यु.एस. परियोजनाले प्राविधिक सहयोग गरेको थियो ।

Advertisement

कार्यक्रमको मुख्य उद्देश्य वर्षौंदेखि कार्यस्थलमा काम गरेर सीप हासिल गरेका तर कुनै औपचारिक प्रमाणपत्र नभएका श्रमिकहरूको सीप परीक्षण गरी उनीहरूलाई राष्ट्रिय स्तरको मान्यता दिलाउनु रहेको थियो । उद्योग संगठन मोरङका कार्यसमिति सदस्य सिर्जन प्याकुरेलले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको पहिचान र उद्यमशीलतालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

नेपाली युवा उद्यमी मञ्च झापाका अध्यक्ष गणेश पौडेलले बदलिँदो बजारमा उद्योगहरूको उत्पादकत्व बढाउन प्रमाणित जनशक्ति अनिवार्य रहेको बताए । ‘राष्ट्रिय दक्षता मापदण्डअनुसार तयार भएका जनशक्तिलाई प्राथमिकता दिन सके हाम्रा उद्योगहरू थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सक्छन्, उनले भने ।

एन.भि.क्यु.एस. परियोजनाका प्रदेश प्रबन्धक सुवास घिमिरेले पूर्व सिकाइको मान्यता विधिको महत्वबारे प्रकाश पारे । उनका अनुसार, यस विधिले लामो समयदेखि विभिन्न पेसामा आबद्ध भई अनुभव बटुलेका व्यक्तिहरूको सीपलाई सरकारले तोकेको मापदण्डअनुसार परीक्षण गरी औपचारिक प्रमाणपत्र प्रदान गर्दछ । यसले श्रमिकको आत्मबल बढ्नुका साथै उद्योगीले पनि ढुक्कसँग दक्ष कामदार छान्न पाउने वातावरण सिर्जना गर्ने उनको भनाइ थियो ।

उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले उद्योगी व्यवसायीहरूलाई अबको भर्ना प्रक्रियामा दक्षता प्रमाणित जनशक्तिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । ‘दक्ष र प्रमाणित जनशक्तिको प्रयोगले मात्र उत्पादनको गुणस्तर र परिमाणमा सुधार ल्याउन सकिन्छ,’  उनले उल्लेख गरे ।

अन्तरक्रियामा सहभागी उद्योगी तथा व्यवसायीहरूले आगामी दिनमा राष्ट्रिय दक्षता मापदण्डअनुसार तयार भएका जनशक्तिलाई नै रोजगारीमा प्राथमिकता दिने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

यस कार्यक्रमले झापा र आसपासका क्षेत्रमा रहेका उद्योगहरूका लागि आवश्यक दक्ष जनशक्तिको अभाव टार्न र श्रमिकहरूको सीपलाई सम्मान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.