
काठमाडौं । विशेष महाधिवेशनपछि आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेसभित्र एकता कायम राख्न नेता डा. शेखर कोइरालाले पाँच बुँदे प्रस्ताव अघि सारेका छन् ।
पार्टी नेतृत्वसँग भएको भेटवार्ता तथा अनौपचारिक छलफलमा उनले संगठनात्मक एकता र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । भेट्न पुगेका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल लगायत नेताहरूसँगको छलफलमा डा. कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्दै साझा सहमतिमा महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।
कोइरालाको सचिवालयका अनुसार उनले पार्टीमा गुटगत विभाजन अन्त्य गर्दै संस्थागत एकतामा जोड दिएका छन् । डा. कोइरालाले आफू पद वा हैसियतका लागि नभई पार्टी एकताका लागि सक्रिय रहेको बताएका थिए ।
‘मलाई वरिष्ठ नेता चाहिएको छैन । पार्टीमा एकता कायम राख्नुपर्छ भनेको छु,’ उनले भने, ‘त्यसका लागि गर्नुपर्ने केही काम पनि पार्टी पदाधिकारीलाई दिएको छु ।’ महामन्त्री प्रदीप पौडेलले चैत २२ गते र सभापति थापाले वैशाख २३ गते विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेर भेट गरेका थिए । त्यसपछि कोइरालाले पाँच प्रस्ताव प्रस्तुत गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
यस्ता छन् कोइरालाका पाँच प्रस्ताव
१, १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
२, १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औं महाधिवेशन सम्पन्न गर्ने ।
३, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउने ।
४, कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्ने ।
५, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका सबै समितिहरू आपसी सहमतिमा मात्रै गठन गर्ने ।



















