एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १५:३४

विराटनगर । सत्ताको केन्द्रमा लामो समय बिताएको नेकपा (एमाले)भित्र अहिले आत्मसमीक्षा, संगठनात्मक अराजकता, गुट–उपगुट र वैचारिक विचलनका बारेमा नयाँ बहस सुरु भएको छ ।

पार्टीका केन्द्रीय सदस्य ऋषिकेश पोखरेलले सार्वजनिक गरेको लामो राजनीतिक दस्ताबेजले एमालेभित्रको संरचना, कार्यशैली, नेतृत्व संस्कृति र संगठनात्मक संकटलाई खुला रूपमा प्रश्न गरेको छ । ‘नेकपा एमाले : यसका समस्या र अबको बाटो’ शीर्षकमा तयार गरिएको दस्ताबेजमा पोखरेलले पार्टीभित्र बढ्दो अवसरवाद, संगठनात्मक अराजकता, सत्ता केन्द्रित राजनीति, गुटभित्र ग्याङ निर्माण, जनसंगठनहरूको कमजोर अवस्था, वैचारिक अभियानको पतन तथा जनप्रतिनिधि र पार्टीबीचको दूरीलाई एमालेको वर्तमान संकटका रूपमा चित्रण गरेका छन् ।

Advertisement

पोखरेलले एमालेले आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकाल्दै महाधिवेशनका निर्णयदेखि ‘ग्रासरुट अभियान’ र ‘मेची–काली अभियान’का सुझावसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन् । उनका अनुसार पार्टीले समस्याको पहिचान त गर्ने गरेको छ, तर त्यसलाई व्यवहारमा लागू गर्न असफल भएको छ । उनले यसलाई ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता’को परिणाम भनेका छन् ।

दस्ताबेजमा विशेषगरी २०७५ सालपछि एमालेभित्र वैचारिक राजनीतिक अभियान कमजोर बन्दै गएको टिप्पणी गरिएको छ । ‘कम्युनिस्ट आन्दोलनमा लागेको ठूलो हिस्सा नै सामन्तवादी कार्यशैली र दलाल पुँजीवादी संस्कृतिमा रूपान्तरण भयो,’ पोखरेलले भनेका छन् । उनले धेरै नेता कार्यकर्ताको जीवनशैली, व्यवहार, सामाजिक सम्बन्ध र वर्गीय दृष्टिकोणमा आएको अस्वाभाविक परिवर्तन जनताले स्वीकार गर्न नसकेको दाबी गरेका छन् ।

पोखरेलले पार्टी र सरकारबीचको सम्बन्धलाई पनि गम्भीर प्रश्नको रूपमा उठाएका छन् । उनका अनुसार जनप्रतिनिधिहरू राजनीतिक रूपान्तरणभन्दा शक्ति र अवसरमा केन्द्रित भए । ‘कतिपय ठाउँमा जितेर पनि हारेको जस्तो अवस्था बन्यो’ भन्दै उनले पार्टी र जनप्रतिनिधिबीच समन्वय अभाव हुँदा संगठन कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।

उनले एमालेको अर्को मुख्य संकटका रूपमा गुटगत संरचनालाई औंल्याएका छन् । ‘पार्टीभित्र अब गुट मात्रै नभएर ‘गुटभित्र ग्याङ’ निर्माण भएको छ,’ उनले भने, ‘यसले नेतृत्व र प्रणाली दुवैलाई कमजोर बनाएको छ ।’ अधिवेशनहरू बहस र विचारभन्दा सदस्यता, शक्ति सन्तुलन र समूहगत प्रतिस्पर्धाको मैदान बनेको पोखरेलको टिप्पणी छ । ‘हरेक तहमा आफ्नो समूहको ‘होल्ड’ कायम गर्ने प्रवृत्तिले पार्टीलाई संस्थागत भन्दा व्यक्तिकेन्द्रित बनायो,’ उनले भनेका छन् ।

पोखरेलले एमालेभित्र स्थायी भूगोल आधारित नेतृत्व निर्माण हुन नसकेको गुनासो पनि गरेका छन् । उनका अनुसार जिम्मेवारी पाएका धेरै नेताले भूगोललाई राजनीतिक कार्यक्षेत्रभन्दा अवसर प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । यसले स्थानीय तहमा संगठन कमजोर भएको र जनतासँगको सम्बन्ध टुट्दै गएको उनको निष्कर्ष छ ।

प्रवास र श्रमिक समुदायप्रति पार्टी उदासीन बनेको आरोप पनि दस्ताबेजमा छ । रोजगारीका लागि विदेशिएका नेपालीका परिवारलाई लक्षित कार्यक्रम, योजना र राजनीतिक संरचना निर्माण गर्न नसक्दा एमालेले ठूलो सामाजिक आधार गुमाउँदै गएको पोखरेलको भनाइ छ ।

जनसंगठनहरूको भूमिकामाथि पनि उनले कठोर टिप्पणी गरेका छन् । उनका अनुसार धेरै जनसंगठन समुदाय र पेसागत अधिकारभन्दा पार्टीभित्रको शक्ति संघर्षको केन्द्र बने । ‘जनसंगठनहरू सामाजिक सञ्जाल, साँझको भेटघाट र सम्भावित प्रतिस्पर्धीविरुद्ध नकारात्मक सूचना पुर्‍याउने माध्यममा सीमित भए,’ दस्ताबेजमा उल्लेख गरिएको छ ।

एमाले नेतृत्वमाथि हुने सार्वजनिक आलोचना, अफवाह र ‘मिडिया ट्रायल’को प्रभावकारी प्रतिवाद गर्न नसकेको पनि पोखरेलले बताए । उनले पार्टी नेतृत्वलाई सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा कमजोर पार्ने योजनाबद्ध प्रयास भइरहेको उल्लेख गर्दै त्यसको संगठित प्रतिवाद आवश्यक रहेको बताएका छन् ।

दस्ताबेजमा राज्य सञ्चालन र कानुन निर्माणसम्बन्धी विषय पनि विस्तृत रूपमा उठाइएको छ । पोखरेलले एमाले सरकारमा हुँदा राज्यलाई बलियो बनाउने महत्वपूर्ण कानुन निर्माण गर्न नसकेको स्वीकार गरेका छन् । उनले गैरबजेटरी वैदेशिक सहायता नियन्त्रण, कानुन सुधार आयोग गठन, सामाजिक सञ्जाल नियमन, सामाजिक सद्भावविरुद्ध गतिविधिमा कडा कानुन तथा संसदमार्फत कानुन निर्माणको नयाँ प्रक्रिया आवश्यक रहेको बताएका छन् ।

संविधान संशोधनबारे संयुक्त सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको विषय पनि उनले उठाएका छन् । ‘राजनीतिक र सामाजिक बहससहित संविधान संशोधनको प्रारम्भिक मस्यौदा तयार गर्नुपर्ने थियो । तर, त्यसतर्फ पार्टीले पहल गर्न सकेन,’ उनले भने ।

यति मात्रै नभएर पोखरेलले समाधानका रूपमा एमालेभित्र ‘महासमीक्षा’ अभियान चलाउन प्रस्ताव गरेका छन् । उनले सबै नेता कार्यकर्तालाई ‘ह्याङओभरबाट मुक्त’ हुन आह्वान गर्दै नैतिक पतन र भ्रष्टाचार प्रमाणित भएकाबाहेक सबैलाई ‘आममाफी’ दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले विधान महाधिवेशन आयोजना गरेर पार्टीको नीति, संगठन, आचरण, कार्यशैली र नेतृत्व निर्माण प्रक्रियामा व्यापक पुनर्संरचना गर्नुपर्ने बताएका छन् । अहिलेका सबै पार्टी सदस्यता निलम्बन गरेर भूगोल, पेसा, समुदाय र वर्गका आधारमा नयाँ सदस्यता प्रणाली सुरु गर्नुपर्ने उनको प्रस्ताव छ ।

पोखरेलले पार्टी मातहतका धेरै कमिटी र जनसंगठन विघटन गरेर आयोजक कमिटीमा रूपान्तरण गर्नुपर्ने धारणा पनि अघि सारेका छन् । उनका अनुसार वडा केन्द्रित संगठनात्मक मोडेल बनाएर सबै नेता कार्यकर्तालाई आफ्नो वडामै केन्द्रित हुने बाध्यकारी व्यवस्था लागू गर्नुपर्छ ।

जनप्रतिनिधि चयन प्रक्रियामा पनि उनले परिवर्तनको माग गरेका छन् । ‘भूगोलका सदस्यहरूले प्रत्यक्ष छनोट गरेका जनप्रतिनिधि’ निर्माण गर्नुपर्ने भन्दै उनले जनप्रतिनिधिका लागि स्वचालित मूल्यांकन र निष्कासन व्यवस्थासहितको आचारसंहिता बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

एमालेभित्र लामो समयदेखि अनौपचारिक रूपमा चलिरहेको असन्तुष्टि, वैचारिक बहस र संगठनात्मक संकटलाई पोखरेलको दस्तावेजले औपचारिक राजनीतिक बहसको रूप दिएको एमाले वृत्तमा चर्चा सुरु भएको छ । एमालेभित्र आत्मसमीक्षा र पुनर्गठन तथा नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने माग भइरहेका बेला पोखरेलले तयार पारेको दस्ताबेजलाई धेरैले ‘पार्टी पुनरुत्थानको प्रस्ताव’का रूपमा हेरेका छन् ।

तपाइको प्रतिक्रिया
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
प्रधानमन्त्रीलाई संसद्मा ल्याउने रास्वपाको आश्वासन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.