
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराएर सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसदमा ल्याइने बताएका हुन् । संसद् नियमावलीअनुसार संसद् सञ्चालन भइरहेका बेला प्रत्येक पहिलो साता प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था रहे पनि लामो समयदेखि प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलले आपत्ति जनाउँदै आएका छन् ।
यही विषयलाई लिएर विपक्षीले यसअघि पटक–पटक संसद् बैठक अवरुद्ध समेत गरेका थिए । मंगलबार बसेको संसद् बैठकअघि चार विपक्षी दलका प्रमुख सचेतकबीच अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्री संसद्मा उपस्थित हुने स्पष्ट मिति नदिइए बैठक अवरुद्ध गर्ने निष्कर्ष निकालिएको बताइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले आकस्मिक, विशेष र शून्य समय सकिँदासम्म सरकारबाट प्रधानमन्त्रीको उपस्थितिबारे औपचारिक जानकारी नआए संसद् चल्न नदिने चेतावनी दिए । उनले प्रधानमन्त्री कहिले प्रश्नोत्तरमा सहभागी हुन्छन् भन्ने निश्चित मिति सार्वजनिक गर्न सरकारलाई दबाब दिएको बताए ।
विपक्षी दलहरूले जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्वक सुन्न पाउने वातावरण बनाउन पनि सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनीहरूले प्रधानमन्त्री उपस्थित हुने दिनसम्म संसद् बैठक स्थगन गर्न समेत माग गरेका छन् ।
रास्वपा प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई संसद्मा ल्याउने प्रतिबद्धता दोहोर्याए पनि ठोस मिति भने सार्वजनिक गर्न सकेनन् । विपक्षी दलले सरकार अझै स्पष्ट हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।



















