
विराटनगर । विराटनगरमा जारी ५ औं एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि मंगलबार (आज) कोशी मोडेल स्कुल र नरग्राम मावि खेल्दै छन् ।
पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका– १ को सहकार्यमा परोपकारको खेल मैदान आज कोशी मोडेल स्कुल र नरग्राम माविबीच फाइनल खेल हुनेछ । यसअघि, कोशी मोडेल स्कुलले डनबस्को स्कुललाई पराजित गर्दै फाइनलमा पुगेको थियो । नरग्राम माविले आदर्श माविलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
मोरङ र सुनसरीका १९ वटा निजी तथा सामुदायिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विद्यागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उदीयमान खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



















