सामाजिक कार्य शिक्षा सुदृढीकरणका लागि तालिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ११:३९
सामाजिक कार्यका शिक्षकका लागि तालिम सुरु

विराटनगर । ‘नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा’ अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य अध्यापनरत शिक्षकका लागि १० दिने तालिम विराटनगरमा सुरु भएको छ ।  तालिममा पूर्वाञ्चल विश्वविद्यालयको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्यपश्चिम विश्वविद्यालयबाट ७ जना गरी ३१ जना शिक्षकहरूको सहभागिता रहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको सो कार्यक्रमलाई युरोपियन युनियनले सहयोग गरेको छ । युनिभर्सिटी अफ इष्टर्न फिनल्याण्डाको समन्वयमा सञ्चालित कार्यक्रममा चेक गणतन्त्रको ओस्ट्राभा युनिभर्सिटी, स्पेनको नेसनल युनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाको रूपमा रहेका छन् ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकाश मन्त्री रामप्रसाद मेहताले विश्वविद्यालयहरूले व्यवहारिक शिक्षालाई जोड दिन आग्रह गरे । शिक्षाका लागि बिदेसिने समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री मेहताले हाम्रा विद्यार्थीहरूलाई नेपालमै बसेर पढ्ने वातावरण सिर्जना गर्न र पढ्नका लागि विदेशी विद्यार्थीहरूलाई नेपाल आउने वातावरण बनाउनेतर्फ विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । शिक्षाको गुणस्तर बढाएर शिक्षालाई समयानुकूल बनाउनु अहिलेको आवश्यकता भएको तर्फ इङ्गित गर्दै उपकुलपति थपलियाले विश्वविद्यालयका प्राध्यापकहरूको क्षमता अभिवृद्धि गरेर शिक्षाको गुणस्तर बढाउन पूर्वाञ्चल विश्वविद्यालय प्रतिबद्ध रहेको प्रस्ट्याए ।

कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार तथा यो परियोजनाका सल्लाहकार डा. रमेशबाबु काफ्लेले तालिमको आवश्यक र महत्वमाथि प्रकाश पार्दै प्राध्यापकहरूको क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिन जोड दिए । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग समन्वय र सहकार्य गरी प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्न यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालय सदैव तत्पर रहेको रजिस्ट्रार काफ्लेले बताए ।

त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले सामाजिक कार्यको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै नेपालमा सामाजिक कार्य शिक्षाको आफ्नै मौलिक पहिचान रहेको बताए । नेपालको आफ्नै मौलिक सामाजिक कार्य शिक्षाको अध्ययन, विकास र व्यावसायिकतामा विश्वविद्यालयहरूले अध्ययन, अनुसन्धान तथा लगानी गर्नुपर्नेमा कार्यकारी निर्देशक कार्कीले जोड दिए ।

परियोजनाकी अन्तर्राष्ट्रिय निर्देशक प्रोफेसर हङ्लिन चेनले परियोजनाले नेपालका सामाजिक कार्यका प्राध्यापकको अभ्यास शिक्षाको क्षमता अभिवृद्धि गर्ने जानकारी दिए । परियोजनाबाट प्रशिक्षित प्राध्यापकहरूले विद्यार्थीहरूको अभ्यासको गुणस्तर अभिवृद्धि गर्न यो तालिम फलदायी हुने भन्दै चेनले  विद्यार्थीहरूले अभ्यास गर्ने संघ संस्थाहरूले विद्यार्थीको सिकाइलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट काम गर्ने जानकारी दिए । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजनाले सामाजिक कार्य शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चेनले बताए ।

तालिम लिएका शिक्षकहरूले विद्यार्थी र सामाजिक कार्य अभ्यास गर्ने संघ संस्थाहरूसँग मिलेर काम गर्ने छन् । तालिम असार ९ गतेसम्म सञ्चालन हुनेछ । पूर्वाञ्चल विश्वविद्यालयले विगत एक दशकदेखि सामाजिक कार्यको स्नातक तथा स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.