हालान्ड चम्किँदा नर्वे विजयी, २८ वर्षपछि सुखद सुरुवात

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०६:२२

अमेरिका । झण्डै तीन दशकपछि विश्वकपको मञ्चमा फर्किएको नर्वेले विजयी सुरुवात गर्दै आफ्नो पुनरागमनलाई स्मरणीय बनाएको छ ।

स्टार फरवार्ड एर्लिङ हालान्डको दुई गोलको मद्दतमा नर्वेले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को पहिलो खेलमा इराकलाई ४–१ ले पराजित गरेको हो । अमेरिकाको बोस्टनस्थित रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा नर्वेले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो ।

Advertisement

टोलीको जितमा हालान्डले दुई गोल गरे भने लियो ओस्टिगार्डले एक गोल थपे । अर्को एक गोल इराकी खेलाडीको आत्मघाती गोलका रूपमा नर्वेको पक्षमा गएको थियो । इराकका आयमन हुसेनले भने टोलीका लागि एकमात्र गोल गरे ।

खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । उनको गोलले टोलीलाई उत्साह थपे पनि इराकले चाँडै नै खेलमा पुनरागमन गर्‍यो । ३९औँ मिनेटमा आयमन हुसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ समाप्त हुनुअघि नै हालान्डले पुनः आफ्नो प्रभाव देखाए । ४३औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । पहिलो हाफ यही नतिजामा समाप्त भयो ।

दोस्रो हाफमा पनि नर्वेको दबाब कायम रह्यो । खेलको ७६औँ मिनेटमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै टोलीको अग्रता थप बलियो बनाए । त्यसपछि इराकले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

इन्जुरी समयको छैटौँ मिनेटमा इराकका खेलाडीले क्लियर गर्न खोजेको बल आफ्नै जालीमा पुगेपछि नर्वेले थप एक गोल उपहारस्वरूप प्राप्त गर्‍यो । त्यससँगै नर्वेले ४–१ को स्पष्ट जित दर्ता गर्‍यो ।

यस नतिजापछि नर्वे तीन अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ । समान तीन अंक भए पनि गोलअन्तरमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पराजित भएका सेनेगल र इराक भने अकंविहीन छन् ।

नर्वेले यसअघि सन् १९९८ मा अन्तिमपटक विश्वकप खेलेको थियो । उक्त प्रतियोगितामा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसयता लगातार विश्वकपमा छनोट हुन असफल हुँदै आएको थियो ।

२८ वर्षको लामो प्रतीक्षापछि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फर्किएको नर्वेले भने यसपटक सुखद सुरुवात गर्दै आगामी यात्राका लागि बलियो सन्देश दिएको छ । हालान्ड चम्किँदा नर्वेले शानदार जित हात पारेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.