साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा–नौबिसे सुरुङ मार्ग 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०९:४४
साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा–नौबिसे सुरुङ मार्ग 

काठमाडौं । नेपालको बहुप्रतिक्षित र पहिलो आधुनिक सुरुङ मार्ग ‘नागढुंगा–नौबिसे सुरुङ मार्ग’ आगामी साउन महिनादेखि सवारीसाधनका लागि सञ्चालनमा ल्याउने तयारी थालिएको छ। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा खण्डमा हुने लामो सवारी जामबाट यात्रुले मुक्ति पाउने अपेक्षा गरिएको छ ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश प्राविधिक कामहरू सम्पन्न भइसकेका छन् । हाल सुरुङभित्र हुनसक्ने सम्भावित आकस्मिक घटनाको उद्धार र सवारी व्यवस्थापनको आन्तरिक परीक्षण भइरहेको छ। सुरुङ मार्ग बाहिरको पहिरो रोकथामको काम मात्र अब बाँकी रहेको आयोजनाले जनाएको छ।

Advertisement

२ हजार ६८८ मिटर लम्बाइ रहेको यो सुरुङ मार्ग सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारको जिम्मेवारी ‘युसिन एआरटी’ कम्पनीले पाएको छ। १ अर्ब १० करोडको लागतमा पाँच वर्षका लागि यो कम्पनीले ३६५ दिन चौबिसै घण्टा सुरुङ मार्ग सञ्चालन गर्ने छ।

आयोजनाका निर्देशक नेपालले नागढुंगा–नौबिसे सुरुङ मार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) संकलन गर्ने बैंकको छनोट र कार्ड छाप्ने लगायतको प्रक्रिया पनि अघि बढिसकेको छ ।

सुरुङ मार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुर तिर्न मिल्ने व्यवस्था मिलाएको छ।  ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्युआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङ मार्गको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारलगायतको जिम्मेवारी पाएको छ।

‘सुरुङ मार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन्’, उनले भने, ‘सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको  ‘पिकआवर’ मा एकै पटक ४० कर्मचारी खटिने छन्।’

अहिले सुरुङ मार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन्। असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङ मार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखेको छ ।

आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रे बाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठुला सवारीसाधन गुड्ने गर्छन्।

नागढुंगा–नौबिसे सडक खण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको छ । आयोजनाका अनुसार यो सुरुङ मार्ग हुँदै दुई पाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङ मार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ।

कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ। त्यसैगरी, मिनीबस, मिनी टिपर/ ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ।

त्यसैगरी, बस, ट्रक (सिंगल रियर एक्सल) सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० दस्तुर तोकिएको छ। सोही सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने २०० दस्तुर तोकिएको छ। मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० दस्तुर तोकिएको छ। काठमाडौंबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० दस्तुर तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.