
विराटनगर । नेपाली चियाको निर्यातमा देखिएको अवरोधका कारण झापा, इलाम र पाँचथरका चिया उद्योगहरू बन्द भएपछि नेकपा (एमाले) कोशी प्रदेश कमिटीले गम्भीर चिन्ता व्यक्त गरेको छ । एमालेले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।
एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा चिया टिप्ने मुख्य सिजनकै समयमा इलाममा सञ्चालित ५३ वटा, झापामा सञ्चालित ३६ वटा तथा पाँचथरका समेत चिया उद्योगहरू पूर्ण रूपमा बन्द भएको उल्लेख गरिएको छ । उद्योग बन्द हुँदा करिब ६० हजार श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भएको एमालेले जनाएको छ ।
विज्ञप्तिमा नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्येमा पर्ने चियाको निर्यातमा देखिएको समस्या तत्काल समाधान हुन नसके किसानले उत्पादन गरेको हरियो चिया पत्तीको उचित मूल्य नपाउने, उद्योग सञ्चालनमा थप कठिनाइ उत्पन्न हुने तथा हजारौं श्रमिकको रोजगारी र आयआर्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ । एमालेले नेपालमा उत्पादन हुने कुल चियामध्ये करिब ९८ प्रतिशत चिया खेती कोशी प्रदेशमा हुने उल्लेख गर्दै चिया क्षेत्रलाई प्रदेशको समृद्धिको प्रमुख आधारका रूपमा व्याख्या गरेको छ ।
तर, यस क्षेत्रमा पटक–पटक देखिने संकटका कारण कोशी प्रदेशको आर्थिक गतिविधि नै प्रभावित हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यस्तो विषम परिस्थितिमा नेपाल सरकारले भारतीय पक्षसँग सरकारी तथा कूटनीतिक तहमा तत्काल संवाद, वार्ता र समन्वय गरी नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन आवश्यक पहल गर्नुपर्ने एमालेको माग छ । साथै, दुई देशबीचको मित्रवत् सम्बन्ध, व्यापारिक सहकार्य तथा पारस्परिक हितलाई ध्यानमा राख्दै वार्ता र संवादमार्फत समस्या छिटो समाधान गर्न भारतीय पक्षसँग पनि एमालेले अनुरोध गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीले चिया किसान, मजदुर तथा उद्योगी व्यवसायीहरूको पक्षमा आफू सधैं उभिने प्रतिबद्धता व्यक्त गर्दै चिया क्षेत्रमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न आवश्यक पहल जारी राख्ने जनाएको छ । वर्तमान संकट समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत एमालेले व्यक्त गरेको छ ।


























