
काठमाडौं । देशसँग पीरती लगाउँदा आफू सांसद, मन्त्री बन्न पुगेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नाे मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि पुनले बताए। ‘म संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पीरतीले मलाई सांसद र मन्त्री बनायो। एउटा लामो कहानी छ। पीरती मेरो कसरी कोसँग बसेर म जोगी भए? भन्ने कुरा आयो क्या। र, मन्त्री भए भन्ने कुरा आयो’, उनले भने ‘मेरो पीरती खासमा देशसँग बसेको हो। तर सुरुमा एकैचोटी देशसँग बसेको होइन। त्यो चाहीँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पीरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पीरति बस्यो। त्यसैले अहिले जोगी भएँ। पक्का जोगी हो म चाँही। व्यवहारिक रुपमा पनि म जोगी नै हो।’

























