तीन पूर्वअध्यक्षहरूद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १४:१९
तीन पूर्वअध्यक्षहरूद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ । धुम्बाराहीस्थित सूर्य इभेन्टमा सुरु भएको केन्द्रीय समितिको बैठकलाई पार्टीका तीन पूर्वअध्यक्षसहितका प्रभावशाली नेताहरूले सामूहिक रूपमा बहिष्कार गरेका छन् ।

बैठक बहिष्कार गर्नेहरूमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहेका छन् । उनीहरूका साथै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्यहरू अर्जुन राई र हरिबहादुर बस्नेतले पनि बैठकमा सहभागिता जनाएनन् ।

Advertisement

त्यसैगरी, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्रीहरू प्रेमबहादुर रैयार र ऋषि देवकोटा, तथा सहमहामन्त्री रीना गुरुङलगायतका नेताहरू पनि बैठकमा अनुपस्थित भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेताहरूले बैठक बहिष्कार गरेका हुन् । विशेष गरी, अध्यक्ष लिङ्देनले गत फागुनको निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई समेत केन्द्रीय समिति बैठकमा सहभागी गराउने प्रस्ताव राखेपछि असन्तुष्ट पक्ष थप आक्रोशित बनेको बुझिएको छ ।

वरिष्ठ नेताहरूको यो सामूहिक बहिष्कारले राप्रपाभित्र शक्ति सन्तुलन र नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर संकट उत्पन्न भएको संकेत गरेको छ । अध्यक्ष लिङ्देनले एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.