विद्यार्थीद्वारा लोकतान्त्रिक अभ्यास: मतदानबाट चुनिए विद्यालय क्याप्टेन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०९:३३
विद्यार्थीद्वारा लोकतान्त्रिक अभ्यास: मतदानबाट चुनिए विद्यालय क्याप्टेन

रंगेली । मोरङको रंगेली नगरपालिका–८ दर्वेशाको महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालय क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि मतदान कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक सत्र २०८३ का लागि आयोजित यस निर्वाचनमा कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूले मतदाताको रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन प्रक्रियालाई वास्तविक निर्वाचनको झल्को दिने गरी व्यवस्थित बनाइएको थियो । जसमा उम्मेदवारी दर्ता, चुनावी प्रचारप्रसार, गोप्य मतदान र मतगणनाका सबै चरणहरू अपनाइएको थियो ।

Advertisement

कार्यक्रमका क्रममा शिक्षक चिरञ्जीवी काफ्लेले लोकतन्त्र र निर्वाचन सम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्तो अभ्यास आवश्यक रहेको बताए । उनले भने, ‘निर्वाचनका विषयहरू कक्षाको किताबमा पढेर मात्र पुग्दैन । विद्यार्थीलाई निर्वाचन प्रक्रियामा प्रत्यक्ष सहभागी गराउँदा मतदानको महत्त्व, नेतृत्व चयनको प्रक्रिया, नागरिक जिम्मेवारी तथा लोकतान्त्रिक मूल्यमान्यता सहज रूपमा सिक्न सकिन्छ ।’

विद्यालयका अनुसार यस प्रक्रियाबाट निर्वाचित हुने क्याप्टेन र भाइस क्याप्टेनले विद्यालयमा अनुशासन कायम गर्न, अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न र विद्यार्थीहरूको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छन् ।

पहिलो पटक वास्तविक निर्वाचनको जस्तै वातावरणमा मतदान गर्न पाउँदा विद्यार्थीहरूमा ठुलो उत्साह देखिएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र लोकतान्त्रिक संस्कार विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.