
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काे महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्त्वपूर्ण बाटो भएकाे सभापति रवि लामिछानेले बताएका छन् । महाधिवेशनअघि शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा ऐतिहासिक बाटो भनेको महाधिवेशन हो,’ लामिछानेले भने, ‘महाधिवेशन यसभन्दा अलि अगाडि नै गर्नुपर्ने थियो । गर्ने कोसिस पनि भएको थियो ।’
पार्टी निर्माणको चार वर्षे जीवनमा आम नागरिकको परीक्षणले परिपक्व बन्दै गएको उनले दाबी गरे । ‘हामी आम नागरिकको सार्वजनिक परीक्षणमा जहिल्यै छौं । आम नागरिकले सधैँ हामीलाई खबरदारी गरिरहे । नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन रह्यो’, लामिछानेले भने ।



















